AFG Vs ZIM : अफगानिस्तानद्वारा सिरिज क्लिनस्विप, कप्तानले बनाए नयाँ कीर्तिमान

काठमाडौं- जिम्बाब्वेसँगको टी-२० सिरिज अफगानिस्तानले ३-० ने ‘क्लिनस्विप’ गरेको छ ।

सिरिजको तेस्रो तथा अन्तिम खेलमा जिम्बाब्वेलाई ४७ रनले हराउँदै अफगानिस्तानले सिरिज ‘क्लिन स्विप’ गरेको हो ।

तेस्रो खेलमा अफगानिस्तानले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो ।

उसका लागि सिकन्दर राजाले ४१, रायन बुर्लले अविजित ३९, तर्साई मुसाकान्दाले ३० र कप्तान शन विलियम्सले १४ रन बनाए ।

बलिङमा करिम जनतले सर्वाधिक दुई विकेट लिए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८३ रन बनायो ।

उसका लागि नजिबुल्लाह जर्दानले आक्रामक ब्याटिङ गरे । उनले ३५ बलमा पाँच छक्का र पाँच चौकासहित अविजित ७२ रन बनाए ।

अन्तर्राष्ट्रिय टी-२० मा उनको यो उच्च ब्याटिङ प्रदर्शन हो ।

त्यस्तै, उश्मान घानीले ३९, कप्तान अश्घर अफगानले २४, करिम जनतले २१ र रहमानुल्लाह गुर्बाजले १८ रन बनाए ।

बलिङमा ब्लेसिङ मुजाराबानी र रिचर्ड नगारावाले सर्वाधिक दुई/दुई विकेट लिए ।

असघर अफगानले रचे इतिहास

अफगानिस्तानका कप्तान असघर अफगानले नयाँ कीर्तिमान बनाएका छन् । उनले आफ्नो नेतृत्वमा अफगानिस्तानलाई सर्वाधिक टी-२० म्याच जिताउने कीर्तिमान बनाएका हुन् ।

असघर अब अफगानिस्तानका लागि मात्र नभएर विश्व क्रिकेटको टी-२० प्रारूपमै सर्वाधिक टी-२० म्याच जिताउने कप्तान बनेका छन् । उनको नेतृत्वमा हालसम्म अफगानिस्तानले ४२ टी-२० म्याच जिटेको छ ।

अफगानले यो उपलब्धि जिम्बाब्वेसँगको टी-२० सिरिजको तेस्रो खेलमा जितेसँगै हासिल गरे । योसँगै उनले भारतीय टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको रेकर्ड भंग गरेका छन् ।

यसअघि धोनी र असघरले आफ्नो कप्तानीमा ४१/४१ टी-२० म्याच जिताएको रेकर्ड बनाएका थिए । अब धोनीलाई असघरले पछि पारेका छन् ।

हालसम्म असघरले ५२ खेलमा अफगानिस्तान टीमको नेतृत्व गरेका छन् । जसमा उनले टिमलाई ४२ खेल जिताएका छन् ।

असघरको कप्तानीमा अफगानिस्तानले ९ टी-२० खेलमा मात्र हारको सामना गरेको छ ।

Loading...