‘हिटम्यान’ले बनाए दुई कीर्तिमान, तोडे यी स्टार खेलाडीको रेकर्ड

काठमाडौं- भारतीय टिमका उपकप्तान रोहित शर्माले इंग्ल्याण्डविरुद्धको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेलमा आक्रामक पारी खेले । उनले ३४ बलमा ५ छक्का र चार चौकासहित ६४ रन बनाए ।

यो उत्कृष्ट पारीसँगै रोहितले अन्तर्राष्ट्रिय टी–२० मा सर्वाधिक रन बनाउने सूचीको दोस्रो स्थानमा उक्लिएका छन् ।

उनी न्यूजिल्याण्डका आक्रामक ओपनिङ ब्याट्सम्यान मार्टिन गुप्टिललाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएका हुन् ।

हालसम्म रोहितले १११ म्याचको १०३ इनिङ्समा २ हजार ८६४ रन बनाएका छन् । त्यस्तै, गुप्टिलले २ हजार ८३९ रन बनाएका छन् ।

यो सूचीको शीर्ष स्थानमा भने भारतीय टिमका कप्तान विराट कोहली छन् । उनले सर्वाधिक ३ हजार १५९ रन बनाएका छन् ।

रोहितलाई अर्को उपलब्धि

रोहित अन्तर्राष्ट्रिय टी-२० मा सर्वाधिक चौका प्रहार गर्ने मामिलामा पनि दोस्रो स्थानमा उक्लिएका छन् । यो सूचीको दोस्रो स्थानमा उक्लिदा पनि उनले गुप्टिलकै रेकर्ड भंग गरे ।

रोहितले हालसम्म टी-२० मा २५२ तथा गुप्टिलले २५० चौका हिर्काएका छन् । यो सूचीको पहिलो नम्बरमा भने विराट कोहली छन् । अहिलेसम्म विराटले सर्वाधिक २८५ चौका प्रहार गरेका छन् ।

Loading...