भारतले जित्यो टी-२० सिरिज, यी खेलाडी बने जितका नायक

काठमाडौं- इंग्ल्याण्डविरुद्धको टी-२० सिरिज घरेलु टोली भारतले जितेको छ ।

अन्तिम तथा पाँचौ खेलमा इंग्ल्याण्डलाई ३६ रनले हराउँदै भारतले सिरिज ३-२ ले जितेको हो ।

अन्तिम खेलमा भारतले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डको सुरुवात खराब रह्यो । उसले पहिलो ओभरमै ओपनर जेसन रोयलाई शून्यमै गुमाउन पुग्यो ।

दोस्रो विकेटका लागि जोश बटलर र डेविड मलानबीच १३० रनको साझेदारी बने पनि त्यो जितका लागि पर्याप्त रहेन ।

महत्वपूर्ण म्याचमा मलानले ४९ बलमा ९ चौका र दुई छक्कासहित ६८ र बटलरले ३४ बलमा चार छक्का र दुई चौकाको मद्दतमा ५२ रन बनाए ।

त्यस्तै, बेन स्टोक्स, साम करनले १४/१४ र क्रिस जोर्डनले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

 

बलिङमा अनुभवी तीव्र गतिमा बलर भुवनेश्वर कुमार र शार्दुल ठाकुरले उत्कृष्ट प्रदर्शन गरे ।

भुवनेश्वरले चार ओभरमा १५ रन दिएर दुई तथा शार्दुलले चार ओभरमा ४५ रन खर्चिदै तीन विकेट हात पारे ।

त्यस्तै, टी नटराजन र हार्दिक पाण्ड्याले एक/एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय २४ रन बनायो ।

उसका कप्तान विराट कोहली र उपकप्तान रोहित शर्माले अर्धशतकीय पारी खेले ।

Photo : Espncricinfo

विराटले ५२ बलमा ७ चौका र २ छक्कासहित अविजित ८० र रोहितले ३४ बलमा पाँच छक्का र चार चौकाको मद्दतमा ६४ रनको पारी खेलेका हुन् ।

त्यस्तै, हार्दिक पाण्ड्याले १७ बलमा दुई छक्का र चार चौका हिर्काउँदै अविजित ३९ रनको योगदान दिए ।

तेस्रो नम्बरमा ब्याटिङमा आएका सूर्यकुमार यादवले १७ बलमा तीन चौका र दुई छक्कासहित ३२ रन बनाए ।

बलिङमा आदिल राशिद र बेन स्टोक्सले एक/एक विकेट लिए ।

Loading...