बटलरसँग विराटले गरे विवाद, दुई म्याच गुमाउने खतरा!

काठमाडौं- भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली मैदानमा प्रायः आक्रामक रूपमा प्रस्तुत हुन्छन् ।

इंग्ल्याण्डसँगको अन्तिम तथा पाँचौ खेलमा पनि आक्रामक रूपमा कप्तानी गरे । उनी म्याचका क्रममा जोस बटलरसँग पनि विवादमा उत्रिएका छन् ।

बटलरले आउट हुनुअघि डेविड मलानसँग १३० रनको विशाल साझेदारी बनाएका थिए ।

५२ रन बनाएर पवेलियन फर्किने बेला कप्तान कोहलीले बटलरसँग केही कुरा भनेका थिए । यद्यपि विराटले बटलरसँग के भनेका थिए भन्नेबारे बाहिर आउन सकेको छैन ।

पवेलियन फर्किने बेला बटलरले विराटलाई जवाफ दिइरहेका थिए । आउट हुनासाथ विराटले उनलाई ‘रिस उठ्ने’ कुरा गरेको अनुमान गरिएको छ ।

बटलर आउट नहुँदा म्याचमा इंग्ल्याण्ड हाबी थियो । यो स्थितिमा भुवनेश्वर कुमारबाहेक अन्य बलर लयमा देखिएका थिएनन् ।

 

दबाबमा आएको बेला विस्फोटक ब्याट्सम्यान बटलरको विकेट लिँदा आवेगमा विराटले उनलाई अपशब्द प्रयोग गरेको भारतीय सञ्चारमाध्यमले नै बताएका छन् ।

बटलरसँगको विवादपछि विराटले अम्पायर र इंग्ल्याण्डका ब्याट्सम्यान जोनी बेयरिस्टोसँग पनि कुराकानी गरेका थिए । यो घटनापछि कोहलीको ‘अन फिल्ड’ प्रदर्शनमा ध्यान केन्द्रित गरिएको छ ।

इंग्ल्याण्डसँगको दोस्रो टेष्टमा विराटले ‘अन फिल्ड’ अम्यारसँग पनि बहस गरेका थिए । जसकारण उनलाई एक टेष्ट म्याच खेल्न नपाउने खतरा थियो ।

अब बटलरसँगको विवादमा मुछिएका विराटलाई थप खतराको संकेत मिलेको छ ।

कप्तान कोहलीलले दुई ‘डिमेरिट प्वाइन्ट’पाइसकेका छन् ।

आईसीसीको ‘डिमेरिट प्वाइन्ट’ प्रणालीका अनुसार यदि कोही खेलाडी २४ महिनाको अवधिमा चार वा त्योभन्दा बढी ‘डिमेरिट प्वाइन्ट’ पाउँछन् भने सो ‘डिमेरिट प्वाइन्ट’लाई ‘सस्पेन्शन प्वाइन्ट’मा रुपान्तरण गरिन्छ ।

र, सो दुई निलम्बन अंकका कारण खेलाडीलाई एक टेष्ट वा दुई वानडे र दुई टी-२० म्याच खेल्न नपाउनेमध्ये एक कारबाही हुन्छ ।

बटलरसँग विवादमा उत्रिएका विराटमाथि आईसीसी आचारसंहितको अनुच्छेद २.५ अनुसार आरोप लगाइने सम्भावना छ ।

सो अनुच्छेदमा भाषा, कार्य वा इशारामार्फत आउट हुने ब्याट्सम्यानलाई विपक्षी खेलाडीले गलत तरिकाले प्रतिक्रिया दिनु हुँदैन भनिएको छ ।

बटलरलाई आउट हुने बेला ‘अपशब्द’ प्रयोग गरेको भन्ने आरोप पुष्टि भए विराटले थप दुई ‘डिमेरिट प्वाइन्ट’ पाउने छन् ।

यस्तो भएमा उनको खातामा चार ‘डिमेरिट प्वाइन्ट’ हुनेछ ।

कप्तान कोहलीलले थप दुई ‘डिमेरिट’ पाएमा उनले इंग्ल्याण्डसँगको वानडे सिरिजको पहिलो दुई म्याच गुमाउने छन् ।

इंग्ल्याण्ड र भारत तीन खेलेको वानडे सिरिज सोमबारदेखि सुरू हुनेछ ।

Loading...