भारतले जित्यो ‘रोड सेफ्टी वर्ल्ड’ सिरिज, फाइनलमा चम्किँए पठान दाजुभाई

काठमाडौं- भारतको छत्तिसगढको रायपुरमा सम्पन्न पहिलो सिजनको रोड सेफ्टी टी-२० वर्ल्ड सिरिज भारत लेजेन्ड्सले जितेको छ ।

गएराति फाइनल खेलमा श्रीलंका लेजेन्ड्सलाई १४ रनले हराउँदै भारतले सिरिज जितेको हो ।

फाइनलमा भारतले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन मात्र बनाउन सक्यो ।

उसका लागि सनथ जयसूर्याले ४३, चिन्थाक जयसिंघले ४०, कौशल्य वीररत्नेले ३८, कप्तान तिलकरत्ने दिलशानले २१ र उपल थरंगाले १३ रन बनाए ।

बलिङमा युसूफ पठान, इरफान पठानले दुई/दुई, मनप्रीत गोनी र मुनाफ पटेलले एक/एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८१ रन बनायो ।

उसका लागि युसूफ पठान र युवराज सिंहले आक्रामक ब्याटिङ गरे । पठानले ३६ बलमा ४ चौका र ५ छक्कासहित नटआउट ६२ रनको योगदान दिए ।

त्यस्तै, युवराजले ४१ बलमा चार छक्का र चार चौकाको मद्दतमा ६० रन बनाए ।

कप्तान सचिन तेन्दुलकर ३०, वीरेन्द्र सहवाग १०, एस बद्रीनाथ ७ रनमा आउट हुँदा इरफान पठान ८ रनमा अविजित रहे ।

बलिङमा फरविज महारुफ, कौशल्या वीरारत्ने, सनथ जयसूर्या र रंगानाथ हेराथले एक/एक विकेट लिए ।

Loading...