यी ७ स्टार ब्याट्सम्यान : जसले ‘रोड सेफ्टी सिरिज’मा सर्वाधिक रन बनाए

काठमाडौं- भारतको रायपुरमा सम्पन्न रोड सेफ्टी टी-२० वर्ल्ड सिरिज भारत लेजेन्ड्स टिमले जितेको छ ।

गएराति सकिएको फाइनलमा श्रीलंका लेजेन्ड्सलाई १४ रनले हराउँदै भारतले सिरिज जितेको हो ।

संन्यास लिइसकेका क्रिकेटरले खेल्ने यो सिरिजमा पहिलो सिजनमै धेरै खेलाडीले आक्रामक ब्याटिङ गरे ।

यसैबीच, पहिलो सिजनको ‘रोड सेफ्टी सिरिज’मा सर्वाधिक रन बनाउने सात ब्याट्सम्यानको चर्चा गर्दैछौँ :

१. तिलकरत्ने दिलशान : यो सूचीको शीर्ष स्थानमा श्रीलंका लेजेन्ड्स टिमका कप्तान तिलकरत्ने दिलशानको नाम आउँछ । उनले ८ म्याचमा १३६.८६ को स्ट्राइक रेटमा सर्वाधिक २ सय ७१ रन बनाए ।

दिलशानले ८ म्याचमा दुई अर्धशतक बनाए । यसक्रममा उनले ४७ चौका र एक छक्का हिर्काए ।

२. उपल थरंगा : सर्वाधिक रन बनाउने सूचीको दोस्रो स्थानमा श्रीलंका टिमकै विकेटकीपर/ब्याट्सम्यान उपल थरंगाको नाम आउँछ । उनले ६ म्याचमा १३३.८९ को स्ट्राइक रेटमा २ सय ३७ रन बनाए ।

थरंगाले पहिलो सिजनको रोड सेफ्टी सिरिजमा दुई अर्धशतक बनाउँदा ३१ चौका र पाँच छक्का हिर्काए ।

३. सचिन तेन्दुलकर : यो सूचीको तेस्रो स्थानमा भारतीय लेजेन्ड्स टिमका कप्तान सचिन तेन्दुलकरको नाम आउँछ ।

उनले ७ म्याचमा १३८.६९ को स्ट्राइक रेटमा २ सय ३३ रन बनाए । त्यसक्रममा सचिनले दुई अर्धशतक बनाउँदा ३४ चौका र चार छक्का प्रहार गरे ।

४. मोर्नेभ्यान विक : दक्षिण अफ्रिका लेजेन्ड्स टिमका मोर्नेभ्यान विक यो सूचीको चौथो स्थानमा पर्छन् ।

उनले ६ म्याचमा दुई अर्धशतकको सहयोगमा २ सय २८ रन बनाए । त्यसक्रममा उनले २७ चौका र पाँच छक्का हिर्काए ।

५. वीरेन्द्र सहवाग : सर्वाधिक रन बनाउने सूचीको पाँचौ स्थानमा भारत लेजेन्ड्स टिमका ओपनर वीरेन्द्र सहवागको नाम आउँछ ।

उनले ७ म्याचमा १५३.९५ को स्ट्राइक रेटमा २ सय १४ रन बनाए ।

सहवागले पहिलो सिजनको रोड सेफ्टी सिरिजमा दुई अर्धशतक बनाउँदा २८ चौका र सात छक्का प्रहार गरे ।

६. युवराज सिंह : यो सूचीको छैठौँ स्थानमा भारतीय लेजेन्ड्स टिमका युवराज सिंहको नाम आउँछ । भारतलाई उपाधि दिलाउन उनको भूमिका अहम् रह्यो ।

युवराजले ७ म्याचको ६ इनिङ्स खेल्ने मौका पाए । त्यसक्रममा उनले १७.१७ को शानदार स्ट्राइक रेटमा १ सय ९४ रन बनाए ।

युवराज यो सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यान पनि हुन् । उनले सर्वाधिक १७ छक्का हिर्काए । साथै, उनले ६ म्याचमा १० छक्का प्रहार गरे ।

७. एन्ड्रयू पुट्टीक : यो सूचीको सातौँ स्थानमा दक्षिण अफ्रिका लेजेन्ड्स टिमका एन्ड्रयू पुट्टीकको नाम आउँछ ।

उनले ७ खेलमा ११४.९० को स्ट्राइक रेटमा एक अर्धशतकको मद्दतमा १ सय ८५ रन बनाए ।पुट्टीकले सिरिज अवधिभर २२ चौका र एक छक्का हिर्काए ।

Loading...