बंगलादेशसँगको ‘वानडे सिरिज’ न्यूजिल्याण्डले एक खेल अगावै जित्यो

काठमाडौं – बंगलादेशविरुद्धको एकदिवसीय सिरिज न्यूजिल्याण्डले एक खेल अगावै जितेको छ ।

दोस्रो म्याचमा बंगलादेशलाई ५ विकेटले हराउँदै न्यूजिल्याण्डले सिरिज एक खेल अगावै २-० ले जितेको हो ।

दोस्रो म्याचमा बंगलादेशले दिएको २ सय ७२ रनको लक्ष्य न्यूजिल्याण्डले ४८.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

उसका लागि कप्तान टम लाथमले शतकीय पारी खेले । उनले १०८ बलमा १० चौकासहित अविजित ११० रन बनाए ।

त्यस्तै, डेभन कोनवेले ७२, जिमी नीशमले ३०, मार्टिन गुप्टिलले २०, हेनरी निकोल्शले १३ र डारियल मिचेलले नटआउट १२ रनको योगदान दिए ।

बलिङमा मुस्तफिजुर रहमान र मेहदी हसनले दुईरदुई विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७१ रन बनायो ।

उसका लागि मोहम्मद मिथुन र कप्तान तमिम इकबालले अर्धशतकीय पारी खेले ।

मिथुनले ५७ बलमा ६ चौका र २ छक्कासहित अविजित ७३ रन बनाए । अन्तर्राष्ट्रिय वानडेमा मिथुनको यो उच्च ब्याटिङ प्रदर्शन हो । यसअघि वानडेमा उनको उच्च स्कोर ६३ रन थियो ।

त्यस्तै, कप्तान इकबालले १०८ बलमा ११ चौकाको सहयोगमा ७८ रनको योगदान दिए । उनी आज रन आउट भएका थिए ।

त्यस्तै, मुश्फीकुर रहीमले ३४, सौम्य सरकार ३२ र महमूदुल्लाहले १६ रन बनाए ।

बलिङमा मिचेल सान्टनरले दुई, ट्रेन्ट बोल्ट, काइल जेमिसन र म्याट हेनरीले एकरएक विकेट लिए ।

यी दुई टिमबीचको अन्तिम वानडे २६ मार्चमा हुनेछ ।

Loading...