भारतसँग इंग्ल्याण्ड हार्नुका मुख्य चार कारण

काठमाडौं- भारतसँगको एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा पाहुना टोली इंग्ल्याण्डले ३६ रनले हारको सामना गर्नु परेको छ ।

गएराति सम्पन्न खेलमा भारतले दिएको ३ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्ड ४२.१ ओभरमा अलआउट भयो । उसले ४२.१ ओभरको म्याच खेल्दा २ सय ५१ रन मात्र बनाउन सक्यो ।

पहिलो म्याचमा इंग्ल्याण्ड हार्नुको प्रमुख चार कारण :

१. मध्यक्रमका ब्याट्सम्यानको खराब प्रदर्शन  : इंग्ल्याण्डका लागि ओपनरद्वय जोनी बेयरिस्टो र जेसन रोयले आक्रामक ब्याटिङ गरे । यो जोडीले १२ ओभरमै १ सय ७ रन बनाइसकेको थियो ।

पहिलाे विकेटका लागि बेयरिस्टो र रोयबीच १३५ रनको साझेदारी बन्यो । एक समय यस्तो लागेको थियो इंग्ल्याण्डले ४०/४५ ओभरमै म्याच जित्छ ।

जब रोय र बेयरिस्टो आउट भए त्यस बेलादेखि भने इंग्ल्याण्डका कुनै पनि ब्याट्सम्यान लामो समय मैदानमा टिक्न सकेनन् ।

मध्यक्रमका ब्याट्सम्यानको खराब प्रदर्शन नै इंग्ल्याण्ड हारको प्रमुख कारण बन्न पुग्यो ।

२. प्रशिद्ध, शार्दुल र भुवनेश्वरको उत्कृष्ट बलिङ : डेब्यू खेलमै तीव्र गतिका बलर प्रशिद्ध कृष्णाले टिमलाई जिताउन उत्कृष्ट प्रदर्शन गरे । सुरुवात तीन ओभरमा महँगा सावित भएका उनले टिमलाई नै ‘बेक थ्रु’ दिलाए ।

जेसन रोयलाई आउट गर्दै भारतलाई सफलता दिलाएका प्रशिद्धले आफ्नो तीन ओभरपछि भने राम्रो बलिङ गरे । उनले ८.१ ओभरमा एक मेडनसहित महत्वपूर्ण चार विकेट लिएर ५४ रन खर्चिए ।

त्यस्तै, अर्का तीव्र गतिका बलर शार्दुल ठाकुरले पनि राम्रो बलिङ गरे । उनले ६ ओभरमा ३७ रन दिएर महत्वपूर्ण तीन विकेट हात पारे ।

अनुभवी तीव्र गतिका बलर भुवनेश्वर कुमारले एकदिवसीय सिरिजको पहिलो खेलमा पनि घातक बलिङ गरे । उनले ९ ओभरमा ३० रन दिएर दुई विकेट लिए ।

उनले टी-२० सिरिजमा पनि किफायती बलिङ गरेका थिए । यी तीन बलरको उत्कृष्ट प्रदर्शनका कारण पनि इंग्ल्याण्ड पराजित हुन पुग्यो ।

३. शिखर धवनको उत्कृष्ट ब्याटिङ : इंग्ल्याण्ड हारको कारणमध्ये शिखर धवनको ब्याटिङ पनि हो । अर्का ओपनर रोहित शर्मा २८ रनमै आउट भए पनि शिखरले शानदार इनिङ्स खेले ।

धवनले १०६ बलमा ११ चौका र दुई छक्कासहित ९८ रन बनाए । धवनलाई सस्तैमा आउट गर्न नसक्दा भारतले बलियो लक्ष्य दिन पुग्यो ।

४. कुणाल र राहुलको आक्रामक ब्याटिङ : पहिलो वानडे म्याचमा विकेटकीपर केएल राहुल र अलराउन्डर कुणाल पाण्ड्याले आक्रामक ब्याटिङ गरे ।

राुहलले ४३ बलमा चार छक्का र चार चौकासहित अविजित ६५ र कुणालले ३१ बलमा दुई छक्का र सात चौकाको मद्दतमा अविजित ५८ रन बनाए ।

यी दुई ब्याट्सम्यानको आक्रामक ब्याटिङका कारण पनि इंग्ल्याण्ड हार्न पुग्यो ।

Loading...