नेपाली युवा खेलाडीको प्रतिभा देखेर उत्साहित छन् ह्वाटमोर

विराटनगर- नेपाल क्रिकेट टिमका प्रमुख प्रशिक्षक डेभ ह्वाटमोरले यस क्षेत्रका क्रिकेट खेलाडीमा उच्च प्रतिभा रहेको बताएका छन् ।

नेपाल क्रिकेट सङ्घ, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश एवं मोरङ जिल्ला क्रिकेट सङ्घद्वारा आज विराटनगरमा संयुक्तरूपमा आयोजित कार्यक्रममा उनले नेपाली खेलाडीलाई उचित प्रशिक्षण दिइने बताए ।

श्रीलङ्कका टीमलाई एकदिवसीय क्रिकेटमा विश्व विजेता बनाउन मुख्य प्रशिक्षण दिनुभएका अष्ट्रेलियन नागरिक ह्वाटमोरले नेपाली खेलाडीलाई आवश्यक सीप तथा व्यावहारिक ज्ञान दिएमा आगामी दिनमा नेपाल विश्व वरियतामा अगाडि आउने विश्वास व्यक्त गरे ।

नेपाल क्रिकेट सङ्घका प्रशिक्षक जगत टमाटाले प्रदेशका खेलाडीलाई मोरबाट आवश्यक सीप सिक्न सुनौलो अवसरमा पाएकोमा खुसी व्यक्त गरे ।

मोरङ जिल्ला क्रिकेट सङ्घका नवीन घिमिरे, प्रदेशका चण्डिका बाँस्तोला, प्रदीपराज पाण्डेलगायतले यस क्षेत्रको क्रिकेटको विकासमा उनको प्रशिक्षण कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका प्रमुख प्रशिक्षक रहेका ह्वाटमोरले आज स्थानीय प्रशिक्षकलाई सैद्धान्तिक प्रशिक्षण दिनेछन् भने वैजनाथपुर अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा विद्यालय तथा कलेजका विद्यार्थीलाई क्रिकेटसम्बन्धी व्यावहारिक सीप सिकाउने छन् ।

यसैगरी उहाँले चैत १२ र १३ गते प्रदेशअन्तर्गतका विभिन्न क्रिकेट क्लब र खेलाडीलाई प्रशिक्षण दिनेछन् भने चैत १४ गते खेलाडीको खेलको अनुगमन गर्ने छन् ।

Loading...