बैंग्लोरले राजस्थानलाई दियो १९० रनको लक्ष्य, म्याक्सवेल र फाफको उत्कृष्ट पारी

काठमाडौं ।

भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्सलाई १ सय ९० रनको लक्ष्य दिएको छ । बेंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८९ रन बनायो ।

उसका लागि ग्लेन म्याक्सवेल र फाफ डु प्लेसिसले उत्कृष्ट पारी खेले । ४४ बलको सामना गरेका म्याक्सवेलले ४ छक्का र ६ चौकासहित ७७ रन बनाए । जारी सिजनमा उनको यो तेस्रो अर्धशतकीय इनिङ खेले ।

त्यस्तै, डु प्लेसिसले ३९ बलमा ८ चौका र २ छक्काको मद्दतमा ६२ रन बनाए । आइपिएल २०२३ मा उनको यो पाँचौं अर्धशतक हो । राजस्थानविरुद्ध बैंग्लोरले सस्तैमा २ विकेट गुमाए पनि म्याक्सवेल र डु प्लेसिसले सम्हाले । उनीहरूले तेस्रो विकेटका लागि ६६ बलमा १२७ रनको साझेदारी गरे ।

दिनेश कार्तिक १६ रनमा आउट भए । कप्तान विराट कोहली भने आज पहिलो बलमै आउट भए । बाँकी ब्याटरले पनि दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । राजस्थानका लागि ट्रेन्ट बोल्ट, सन्दीप शर्माले २–२, युजवेन्द्र चहल र रविचन्द्रन आश्विनले १/१ विकेट लिए ।

जारी सिजनमा राजस्थान ८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । उसले ६ म्याच खेल्दा ४ मा जित र २ खेलमा हारको सामना गरेको छ । छैटौँ स्थानमा रहेको बैंग्लोरले ६ खेलमा ३ मा जित र ३ खेलमा हार बेहोरेको छ ।

Leave A Reply

Your email address will not be published.