काठमाडौं ।
आइसिसी विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) फाइनलको लागि भारतको टोली घोषणा गरिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले मंगलबार रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीका पूर्वकप्तान तथा ब्याटर अजिंक्य रहाणेले पुनरागमन गरेका छन् ।
जारी सिजनको आइपिएलमा उत्कृष्ट प्रदर्शन गरेपछि रहाणेले राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् । चेन्नई सुपर किंग्सबाट आइपिएल खेलिरहेका उनले ५ खेलमा १९९.०५ को स्ट्राइक रेटमा २०९ रन बनाएका छन् । त्यसक्रममा रहाणेले २ आक्रामक अर्धशतकीय इनिङ खेलेका छन् ।
खराब प्रदर्शनका कारण उनी १४ जनवरी २०२२ देखि टोली बाहिर थिए । टेस्ट च्याम्पियनसिपको उपाधिका लागि फाइनलमा भारतले अस्ट्रेलियाको सामना गर्ने तालिका छ । भारत र अस्ट्रेलियाबीचको उपाधि भिडन्त ७ जुनदेखि लन्डनस्थित केनिङ्गटन ओभलमा सुरु हुनेछ ।
भारतको टोली : रोहित शर्मा (कप्तान), शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली, अजिंक्य रहाणे, केएल राहुल, केएस भरत (विकेटकिपर), रविचन्द्रन आश्विन, रवीन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, मोहम्मद शामी, मोहम्मद सिराज, उमेश यादव र जयदेव उनादकट ।