लोकेशको अलराउन्ड प्रदर्शनमा रूपनीको शानदार जित

काठमाडौं- राजविराजमा जारी सप्तरी प्रिमियर लिगअन्तर्गत किंग्स राजविराजविरुद्ध रूपनी राइडर्स ६ विकेटले विजयी भएको छ ।

राजविराज किंग्सले दिएको १ सय ६२ रनको लक्ष्य रूपनीले १६.२ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि कप्तान कुशल भुर्तेलले र लोकेश बमले आक्रामक ब्याटिङ गरे ।

कुशलले ३३ बलमा दुई छक्का र ६ चौकासहित ५२ र लोकेशले १२ बलमा चार छक्का र एक चौकाको मद्दतमा अविजित ३५ रन बनाए ।

त्यस्तै, अमित यादवले ४५, निरज मुखियाले २३ र सुनिल धमलाले चार रनको योगदान दिए ।

बलिङमा महबूब आलम, सुरजप्रसाद कुर्मी, दिनेश अधिकारी र रोहित सिंहले एक/एक विकेट लिए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको राजविराज किंग्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६१ रन बनायो ।

उसका लागि सोनु अन्सारीले ४५, सुरजप्रसाद कुश्मीले २७, कप्तान महबूब आलमले २३, आशिफ शेखले १६, रोबिन सिंह र सुदर्शन सिंहले १२/१२ रन बनाए ।

बलिङमा लोकेश बमले दुई, सुनिल धमला, अनुजकुमार यादव, सुमित झा र फिर्दोश अन्सारीले एक/एक विकेट लिए ।

Loading...