८ वर्षअघि नेपाल र पाकिस्तानबीचको त्यो खेल…

काठमाडौं ।

२०७२ को कात्तिकमा नेपाली क्रिकेट टोली विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न यूएई भ्रमणमा थियो । जहाँ नेपालले पपुवा न्यूगिनी (पिएनजी) सँग खेल्ने तालिका थियो । पिएनजीअघि नेपालले पाकिस्तानसँग वानडे म्याच खेल्ने मौका पायो । पाकिस्तानले इंग्ल्याण्डसँग सिरिज खेल्नुअघि तयारीस्वरूप नेपालविरुद्ध वानडे म्याच खेल्ने निर्णय गरेको थियो ।

पकिस्तानसँगको उक्त खेलमा नेपाल १२१ रनले पराजित भयो । पाकिस्तानले नेपालविरुद्ध अहजर अलीको कप्तानीमा सरफराज अहमद, युनिस खान, शोएब मलिक, मोहम्मद हफीज, अहमद शहजाद, बाहब रियाज, याशिर शाह, बाबर आजम, मोहम्मद इरफानजस्ता स्टारलाई उतारेको थियो ।

आबुधाबीस्थित शेख जायद स्टेडियमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय २६ रन बनायो । उसका लागि कप्तान अहजर अलीले ७३ बलको सामना गर्दा ७३ रन नै बनाए । उनले आफ्नो पारीमा ७ चौका र २ छक्का हिर्काए । अहजर रिटायर्ड आउट भएका थिए ।

उनले मोहम्मद हफीजसँग दोस्रो विकेटका लागि १०३ रनको साझेदारी गरे । हफीज ४९ रनमा आउट भए । यस्तै, शोयब मलिक ६३ रनमा रिटायर्ड आउट भए । युनिस खानले ३८ रन जोडे । बाबर आजम ४३ रनमा अविजित रहँदा सरफराज अहमद २ रनमै आउट भए । नेपालका लागि बसन्त रेग्मीले ९ ओभरमध्ये एक मेडन फाल्दै ७३ रन दिएर २ विकेट लिए ।

यस्तै, कप्तान पारस खड्काले १० ओभरमा ४७ रन खर्चंदै १ विकेट हात पारे । सागर पुनले ८ ओभरमा ४७ रन नै दिएर १ विकेट लिए । ३ सय २७ रनको लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ५ रन मात्र बनाउन सक्यो । नेपालका लागि अनिल मण्डलले अर्धशतकीय पारी खेले । १०९ बलको सामना गरेका उनले ४ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ६१ रन बनाए ।

यस्तै, ज्ञानेन्द्र मल्लले ५२ बलमा ५ चौकाको सहयोगमा ४१ रनको इनिङ खेले । सागर पुनले ३९, सुवास खकुरेलले २६ र कप्तान पारस खड्काले १३ रन जोडे । शरद भेषवाकर १४ र महबूब आलम १ रनमा अविजित रहे । उक्त खेलमा शक्ति गौचन, सोमपाल कामी र करण केसी पनि थिए । पाकिस्तानका लागि अनवर अलीले २, यासिर शाह, वाहब रियाज र अहमद शहजादले १/१ विकेट लिए ।

सन् २०१५ पछि भने नेपालले पाकिस्तानसँग खेल पाएको छैन । अब भने पाकिस्तानविरुद्ध खेल्ने नेपालको सपना पूरा हुँदैछ । एसिसी प्रिमियर कपको उपाधि जितेपछि एसिया कपमा पाकिस्तानसँग खेल्ने नेपालको सपना पूरा हुन लागेको हो । आउँदो एसिया कप २ सेप्टेम्बरदेखि सुरु हुँदैछ । समूह ‘ए’ मा रहेको नेपालले पाकिस्तानका साथै भारतसँग पनि खेल्न पाउनेछ ।

Leave A Reply

Your email address will not be published.