काठमाडौं ।
टी-२० विश्वकपको एसिया क्षेत्र छनोट चरणको प्रतियोगिता नेपालमा हुने भएको छ । अर्को वर्ष अमेरिका र वेस्ट इण्डिजले आयोजना गर्ने टी–२० विश्वकप एसिया क्षेत्रको छनोट नेपालमा हुने भएको हो । नोभेम्बर १ देखि १० सम्म एसिया क्षेत्रको विश्वकप छनोट प्रतियोगिता आयोजना गर्न आइसिसीले नेपाललाई आयोजनाको जिम्मेवारी दिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।
नेपालले पहिलोपटक आइसिसीको यति ठूलो प्रतियोगिता आयोजना गर्ने मौका पाएको हो । एसिया छनोटमा नेपालसहित, यूएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले खेल्नेछन् । बाँकी दुई टोली छनोट चरण पार गरेर आउनेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल पुग्ने २ टोलीले विश्वकपमा स्थान बनाउने छन् ।
आउँदो विश्वकपका लागि वेस्ट इण्डिज र अमेरिका आयोजकको हैसियतामा छनोट भइसकेका छन् । यस्तै, अस्ट्रेलिया, इंग्ल्याण्ड, भारत, नेदरल्याण्ड्स, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, अफगानिस्तान र बंगलादेश पनि टी–२० विश्वकपको टिकट सुरक्षित गरिसकेका छन् । २०२४ को विश्वकपमा पहिलोपटक २० टिमले खेल्दै छन् ।