एसिया कपमा भारतविरुद्ध नेपालको त्यो ‘ऐतिहासिक’ जित

काठमाडौं ।

सन् २०१७ मा मलेसियामा आयोजित यू–१९ एसिया कप नेपाली क्रिकेटका लागि विशेष रह्यो । विशेष यसकारण कि उक्त संस्करणमा नेपालले पहिलोपटक भारतलाई १९ रनले हरायो । विश्व क्रिकेटमा दबदबा जमाएको टेस्ट मान्यता प्राप्त भारतलाई कुनै पनि स्तरको प्रतियोगितामा नेपालले पहिलोपटक हराएको हो ।

मलेसियास्थित ओभल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनायो । नेपालको ऐतिहासिक जितमा कप्तान दीपेन्द्र सिंह ऐरी ‘हिरो’ सावित भए । अलराउन्ड प्रदर्शन गरेका उनले ब्याटिङमा सर्वाधिक ८८ रन जोड्नुका साथै महत्वपूर्ण चार विकेट लिए ।

१ सय १ बलमा ८८ रनको इनिङ खेलेका ऐरीले २ छक्का र ६ चौका प्रहार गरे । उक्त खेलमा उनी ‘प्लेयर अफ दी म्याच’ घोषित भएका थिए । भारतविरुद्ध नेपालले ओपनर आसिफ शेखलाई ३ रनमै गुमायो । तेस्रोक्रमका ब्याटर अनिल साह ६ रनमै आउट भए । अर्का ओपनर जितेन्द्रसिंह ठकुरीले ३६ रन जोड्दै दीपेन्द्रसँग तेस्रो विकेटका लागि ४९ रनको साझेदारी गरे ।

मध्यक्रमका ब्याटर भीम सार्कीले १५ रन बनाए । रोहितकुमार पौडेलले ६ रनको योगदान दिँदा सन्दीप लामिछाने ९ र किशोर महतो ७ रनमा अविजित रहे । यस्तै, कमल सिंह ऐरीले ५ र पवन सर्राफले १ रनको योगदान दिए । भारतका लागि आदित्य ठाकरे र अभिषेक शर्माले दुई/दुई तथा विवेक तिवारी, मन्दीप सिंह, शिव सिंह र अथर्व ताडेले एक/एक विकेट लिए ।

१ सय ८६ रनको विजय लक्ष्य पछ्याएको भारत ४८.१ ओभरमा १ सय ६६ रनमै अलआउट भयो । उसका लागि कप्तान हिमांशु राणाले सर्वाधिक ४६ रन जोडे । यस्तै, मञ्जोत कालराले ३५, अभिषेक शर्माले २७, अनुज रावतले १८ र अर्थव ताडेले १३ रन बनाए । सलमान खान, तनुस कोटियान, मन्दीप सिंह, शिव सिंह र विवेकानन्द तिवारीले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

उमेर समूहको क्रिकेटमा नेपालविरुद्ध हार बेहारे पनि अभिषेक, अनुज, मञ्जोत, अर्थवलगायत खेलाडीले आइपिएल खेल्ने अवसर प्राप्त गरिसकेका छन् । र, यीमध्ये अभिषेक, अनुज र अर्थवले १६ औँ संस्करणको आइपिएल पनि खेले ।

भारतविरुद्ध नेपालका लागि दीपेन्द्रले १० ओभरमध्ये २ मेडन फाल्दै २९ रन दिएर ४ विकेट लिए । यस्तै, पवन सर्राफ र साहब आलमले दुई/दुई विकेट हात पारे । कमलसिंह ऐरी र सन्दीप लामिछानेको नाममा एक/एक विकेट रह्यो । उक्त एसिया कपमा नेपाल समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका थियो । सेमिफाइनलमा अफगानिस्तानसँग ७ विकेटले पराजित भएको विनोद दास प्रशिक्षक रहेको नेपाली टोली फाइनल पुग्न भने चुक्यो ।

सेमिफाइनलबाट बाहिरिए पनि उक्त संस्करणमा भारतलाई हराउँदै नेपालले आफूतिर विश्व क्रिकेटको ध्यान खिच्यो । भारतलाई हराएको सो एसिया कपमा नेपालको ब्याटिङ सल्लाहकारमा थिए वर्तमान सिनियर नेपाली टिमका हेडकोच मोन्टी देशाई । त्यतिबेला सल्लाहकार मात्र रहेका मोन्टी यसपालिको सिनियर टिमको एसिया कपमा नेपाललाई अर्को ऐतिहासिक उपलब्धि दिलाउने रणनीतिमा छन् ।

आसन्न संस्करणको एसिया कप २ सेप्टेम्बरदेखि सुरु हुँदैछ । समूह ‘ए’ मा रहेको नेपालले ग्रुप स्टेजमा भारतका साथै आयोजक पाकिस्तानसँग पनि खेल्नेछ । उमेर समूह क्रिकेटमा यी २ टिमलाई हराइसकेको नेपालले अन्तर्राष्ट्रिया क्रिकेटमा भने पहिलोपटक खेल्न लागेको हो ।

Leave A Reply

Your email address will not be published.