चेन्नई आइपिएलको फाइनलमा, गुजरातको भेट मुम्बईसँग होला?

काठमाडौं ।

चेन्नई सुपर किंग्स भारतमा जारी १६ औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ ।गएराति सम्पन्न पहिलो क्वालिफायरमा गत विजेता गुजरात टाइटन्सलाई १५ रनले हराउँदै चेन्नई फाइनलमा प्रवेश गरेको हो । ऊ १० औँपटक आइपिएल फाइनलमा पुगेको हो ।

चेन्नईसँग पराजित भए पनि गुजरातको फाइनल पुग्ने सम्भावना जीवितै छ । अब उसले दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेताको सामना गर्नेछ । बुधबार हुने एलिमिनेटर खेलमा लखनउ सुपर जायन्ट्स र मुम्बई इण्डियन्स प्रतिस्पर्धा गर्दैछन् ।

पहिलो क्वालिफायरमा चेन्नईले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको गुजरात निर्धारित २० ओभरमा १ सय ५७ रनमै अलआउट भयो । उसका लागि शुभमन गिलले ४२, राशिद खानले ३०, दासुन शानकाले १७, विजय शंकरले १४ र ऋद्धिमान साहले १२ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

चेन्नईका लागि दीपक चाहर, रवीन्द्र जडेजा, मथीशा पथिराना, महेश थिक्क्षणाले २/२ र तुसार देशपाण्डेले १ विकेट लिए । त्यसअघि चेपकस्थित एमए चिदम्बरम स्टेडियम टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन बनायो ।

उसका लागि ओपनिङ ब्याटर ऋतुराज गायकवाडले अर्धशतकीय पारी खेले । ४४ बलको सामना गरेका उनले ७ चौका र १ छक्कासहित ६० रन बनाए । यस्तै, डेभन कन्वेले ४०, रवीन्द्र जडेजाले २२, अजिंक्य रहाणे र अम्बाती रायडूले १७/१७ रन जोडे ।

कप्तान महेन्द्र सिंह धोनी र शिवम दुबे १/१ रनमै आउट भए । गुजरातका लागि मोहित शर्मा, मोहम्मद शामीले २/२, नूर अहमद, राशिद खान र दर्शन नलकन्डेले १/१ विकेट लिए ।

Leave A Reply

Your email address will not be published.