काठमाडौं ।
भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) को एलिमिनेटर खेलमा मुम्बई इण्डियन्सले लखनउ सुपर जायन्ट्सलाई १ सय ८३ रनको लक्ष्य दिएको छ । चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रन बनायो ।
उसका लागि क्यामरन ग्रीनले २३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाए । यस्तै, सूर्यकुमार यादवले ३३, तिलक वर्माले २६, नेहाल वढेराले २३, इशान किशनले १५ र डिम डेविडले १३ रन जोडे ।
लखनउका लागि नवीन–उल–हकले ४ ओभरमा ३८ रन दिएर सर्वाधिक ४ विकेट लिए । यस्तै, यस ठाकुरले ३ र मोहसिन खानले १ विकेट हात पारे ।
आजको विजेता टिमले दोस्रो क्वालिफायरमा गुजरात टाइटन्सको सामना गर्न पाउनेछ । गुजरात पहिलो क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग १५ रनले पराजित भएको थियो । एलिमिनेटरमा पराजित हुने टोली भने प्रतियोगितबाट बाहिरिने छ ।