मुम्बई आइपिएलको क्वालिफायर-२ मा, आकाश माधवाल रचे इतिहास

काठमाडौं ।

मुम्बई इण्डियन्स भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) को क्वालिफायरमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सलाई ८१ रनले हराउँदै मुम्बई क्वालिफायरमा प्रवेश गरेको हो ।

फाइनलमा प्रवेशका लागि अब मुम्बईले दोस्रो क्वालिफायरमा गुजरात टाइटन्सको सामना गर्नेछ । गुजरात पहिलो क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग १५ रनले पराजित भएको थियो । लखनउ भने प्रतियोगिताबाट बाहिरिएको छ ।

एलिमिनेटरमा मुम्बईले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको लखनउ १६.३ ओभरमा १ सय १ रनमै समेटियो । उसका लागि मार्कस स्टोइनिसले ४०, कायल मेयर्सले १८ र दीपक हूडाले १५ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । लखनउको इनिङ ध्वस्त पार्न युवा तीव्र गतिका बलर आकाश माधवालले घातक बलिङ गरे । ३.३ ओभर बलिङ गरेका उनले ५ रन दिएर ५ विकेट लिए ।

योसँगै आकाश प्लेअफमा ५ विकेट लिने पहिलो बलर बने । यस्तै, क्रिस जोर्डन र पियुष चावलाले १/१ विकेट हात पारे । त्यसअघि चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रन बनायो ।

उसका लागि क्यामरन ग्रीनले २३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाए । यस्तै, सूर्यकुमार यादवले ३३, तिलक वर्माले २६, नेहाल वढेराले २३, इशान किशनले १५ र टिम डेविडले १३ रन जोडे ।

लखनउका लागि नवीन–उल–हकले ४ ओभरमा ३८ रन दिएर सर्वाधिक ४ विकेट लिए । यस्तै, यस ठाकुरले ३ र मोहसिन खानले १ विकेट हात पारे । मुम्बई र गुजरातको दोस्रो क्वालिफायर शुक्रबार हुनेछ । क्वालिफायरको विजेता टिमले आइतबार उपाधिका लागि चेन्नईको सामना गर्नेछ ।

Leave A Reply

Your email address will not be published.