भारतको फराकिलो हार, इंग्ल्याण्डको कीर्तिमानी जित

काठमाडौं- भारतविरुद्धको एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत दोस्रो खेलमा पाहुना टोली इंग्ल्याण्ड ६ विकेटले विजयी भएको छ ।

भारतले दिएको ३ सय ३७ रनको लक्ष्य इंग्ल्याण्डले ४३.३ ओभरमा चार विकेट गुमाएर भेट्टायो ।

भारतविरुद्ध एकदिवसीय क्रिकेटमा इंग्ल्याण्डले पूरा गरेको यो हालसम्मकै ठूलो लक्ष्य हो । यसअघि

इंग्ल्याण्डले भारतविरुद्ध सन् १९६६ मा २ सय ६६ रनको लक्ष्य पूरा गरेको थियो । इंग्ल्याण्डले सो कीर्तिमान ५५ वर्षपछि भंग गरेको छ ।

सिरिजको दोस्रो खेलमा इंग्ल्याण्डका लागि जोनी बेयरिस्टो र बेन स्टोक्सले आक्रामक ब्याटिङ गरे ।

बेयरिस्टोले ११२ बलमा सात छक्का र ११ चौकासहित १२४ रनको पारी खेले । स्टोक्सले ५२ बलमा १० छक्का र चार चौकाको मद्दतमा ९९ रनको योगदान दिए ।

त्यस्तै, जेसन रोयले ५५, लियाम लिभिङस्टोनले २७ र डेविड मलानले अविजित १६ रन बनाए ।

बलिङमा प्रशिद्ध कृष्णाले दुई र भुवनेश्वर कुमारले एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ३६ रन बनायो ।

उसका लागि केएल राहुलले शतक, ऋषभ पन्त र कप्तान विराट कोहलीले शतकीय पारी खेले ।

राहुलले ११४ बलमा दुई छक्का र सात चौकासहित १०८ रन बनाए । एकदिवसीय क्रिकेटमा उनको यो पाँचौ शतक हो ।

त्यस्तै, पन्तले ४० बलमा ७ छक्का र तीन चौकासहित ७७ र विराटले ७९ बलमा तीन चौका र एक छक्कासहित ६६ रनको योगदान दिए ।

अलराउन्डर हार्दिक पाण्ड्याले पनि आज आक्रामक ब्याटिङ गरे । उनले १६ बलमा चार छक्का र एक चौकासहित ३५ रन बनाए ।

रोहित शर्मा २५, शिखर धवन चार रनमा आउट हुँदा कुणाल पाण्ड्या १२ रनमा अविजित रहे । बलिङमा टम करन, रीसी टोप्लीले दुई/दुई आदिल राशिद र साम करन एक/एक विकेट लिए ।

आजको जितसँगै इंग्ल्याण्डले तीन खेलको सिरिज १-१ को बराबरीमा ल्याएको छ । यी दुई टिमबीचको अन्तिम तथा ‘निर्णायक’म्याच आइतबार हुनेछ ।

Loading...