बंगलादेशविरुद्ध न्यूजिल्याण्डको फराकिलो जित

काठमाडौं- बंगलादेशविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा घरेलु टोली न्यूजिल्याण्ड ६६ रनले विजयी भएको छ ।

यो जितसँगै तीन खेलको सिरिजमा न्यूजिल्याण्डले १-० को अग्रता बनाएको छ ।

न्यूजिल्याण्डले दिएको २ सय ११ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन मात्र बनाउन सक्यो ।

उसका लागि अफिफ हुसेनले ४५, मोहम्मद सैफउद्दिनले अविजित ३४, मोहम्मद नइमले २७ र कप्तान महमूदुल्लाहले ११ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा इश सोढीले चार, लकी फर्गुसनले दुई, कप्तान टिम साउथी र हमीश बेन्नटले एक/एक विकेट लिए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय १० रन बनायो ।

उसका लागि डेभन कोनवे र विल योङले आक्रामक ब्याटिङ गरे । कोनवेले ५२ बलमा तीन छक्का र ११ चौकासहित अविजित ९२ रन बनाए ।

त्यस्तै, योङले ३० बलमा चार छक्का र दुई चौकाको मद्दतमा ५३ रनको योगदान दिए । उनको यो डेब्यू म्याच हो ।

मर्टिन गुप्टिल ३५, फिनन आलेन शून्यमा आउट हुँदा ग्लेन फिलिप्सले १० बलमा नटआउट २४ रन बनाए ।

बलिङमा नसुम अहमदले दुई र मेहदी हसनले एक विकेट लिए ।

तीन खेलको एकदिवसीय सिरिजपछि न्यूजिल्याण्ड र बंगलादेशले तिनै म्याचको टी-२० श्रृंखला खेलिरहेका हुन् ।

एकदिवसीय सिरिज न्यूजिल्याण्डले ३-० ले ‘क्लिन स्विप’ गरेको थियो ।

Loading...