भारतले जित्यो वानडे सिरिज, २१ वर्षीय करनको अविश्वसनीय प्रदर्शन!

काठमाडौं- इंग्ल्याण्डसँगको एकदिवसीय क्रिकेट सिरिज भारतले जितेको छ । तेस्रो खेलमा इंग्ल्याण्डलाई ७ रनले हराउँदै भारतले २-१ ले सिरिज जितेको हो ।

सिरिजको तेस्रो तथा निर्णायक खेलमा भारतले दिएको ३ सय ३० रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय २२ रन मात्र बनाउन सक्यो ।

उसका लागि २१ वर्षीय साम करनले उत्कृष्ट ब्याटिङ गरे पनि टिमलाई जित दिलाउन सकेनन् । उनले ८३ बलमा ९ चौका र तीन छक्कासहित अविजित ९५ रन बनाए ।

त्यस्तै, डेविड मलानले ५०, लियाम लिभिङस्टोनले ३६, बेन स्टोक्सले ३५, मोइन अलीले २९, आदिल राशिदले १९, कप्तान जोस बटलरले १५ र जेसन रोयले १४ रनको योगदान दिए ।

बलिङमा शार्दुल ठाकुरले चार, भुवनेश्वर कुमारले तीन, टी नटराजले एक विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित ४८.२ ओभरमा सबै विकेट गुमाएर ३ सय २९ रन बनायो ।

उसका लागि ऋषभ पन्त, शिखर धवन र हार्दिक पाण्ड्याले अर्धशतकीय पारी खेले ।

पन्तले ६२ बलमा चार छक्का र पाँच चौकासहित ७८, धवनले ५६ बलमा १० चौकाको मद्दतमा ६७ र पाण्ड्याले ४४ बलमा चार छक्का र पाँच चौकासहित ६४ रन बनाए ।

त्यस्तै, रोहित शर्माले ३७, शार्दुल ठाकुरले ३० र कुणाल पाण्ड्याले २५ रनको योगदान दिए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा मार्क उडले तीन, आदिल राशिदले दुई, साम करन, रीसी टोप्ली, मोइन अली, लियाम लिभिङस्टोन र बेन स्टोक्सले एक/एक विकेट लिए ।

Loading...