टी-२० क्रिकेट : सर्वाधिक अर्धशतक बनाउने ५ नेपाली ब्याट्सम्यान

काठमाडौं- नेपालमा क्रिकेटप्रतिको समर्थकको साथ दिनहुँ बढ्दो क्रममा छ । नेपालले क्रिकेट खेल्न थालेको इतिहास धेरै पुरानो नभए पनि समर्थकको साथ भने उत्साप्रद छ ।

नेपालले सन् १९९६ मा पहिलो आधिकारिक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेको थियो । त्यो खेलेको टिम नै नेपालको पहिलो आधिकारिक राष्ट्रिय टिम थियो ।

२५ वर्षीय क्रिकेट इतिहासमा नेपालले टी-२० विश्वकपमा सहभागिताका साथै एकदिवसीय क्रिकेटको मान्यतासमेत पाइसकेको छ ।

यो बीचमा नेपाली क्रिकेटरले विभिन्न कीर्तिमानसमेत आफ्नो नाममा बनाइसकेका छन् । यसैबीच, आज हालसम्म अन्तर्राष्ट्रिय टी-२० मा सर्वाधिक अर्धशतक बनाउने पाँच ब्याट्सम्यानको चर्चा गर्दैछौँ :

१. पारस खड्का : यो सूचीको शीर्ष स्थानमा पूर्वकप्तान पारस खड्काको नाम आउँछ । उनले २०१४ देखि २०२० सम्म टी-२० मा सर्वाधिक पाँच अर्धशतक बनाएका छन् ।

साथै, पारसको नाममा टी-२० मा एक शतक पनि छ । उनी अन्तर्राष्ट्रिय टी-२० मा शतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान पनि हुन् ।

पारसले हालसम्म ३३ टी-२० को ३२ इनिङ्समा १२८.०४ को स्ट्राइक रेटमा सर्वाधिक ७ सय ९९ रन बनाएका छन् । टी-२० मा पारसको उच्च स्कोर अविजित १०५ रन हो ।

२. विनोद भण्डारी : अन्तर्राष्ट्रिय टी-२० मा नेपालका लागि सर्वाधिक अर्धशतक बनाउने मामलामा विकेटकीपर/ब्याट्सम्यान विनोद भण्डारी दोस्रो स्थानमा छन् । उनले २०१४ देखि हालसम्म टी-२० मा दुई अर्धशतक बनाएका छन् ।

विनोदले ३० म्याचको २५ इनिङ्समा १०९.७४ को स्ट्राइक रेटमा ३ सय ४ रन बनाएका छन् । अन्तर्राष्ट्रिय टी-२० मा उनको उच्च स्कोर अविजित ५८ रन हो ।

३. ज्ञानेन्द्र मल्ल : यो सूचीको तेस्रो स्थानमा कप्तान ज्ञानेन्द्र मल्लको नाम आउँछ । उनले हालसम्म २७ टी-२० को २५ इनिङ्स खेलेका छन् । जसमा उनले एक शतक र एक अर्धशतक बनाएका छन् ।

कप्तान मल्लले अहिलेसम्म १२१.७२ को स्ट्राइक रेटमा ५ सय ६६ रन बनाएका छन् । अन्तर्राष्ट्रिय टी-२० मा उनको उच्च स्कोर १०७ रन हो ।

४. सन्दीप जोरा : नेपालका लागि टी-२० मा सर्वाधिक अर्धशतक बनाउने सूचीमा युवा ब्याट्सम्यान सन्दीप जोराको नाम चौथो स्थानमा आउँछ । उनले हालसम्म टी-२० मा एक अर्धशतक बनाएका छन् ।

सन्दीपले ६ टी-२० मा १२१.६८ को स्ट्राइक रेटमा १०१ रन बनाएका छन् । टी-२० मा उनको उच्च स्कोर अविजित ५३ रन हो ।

५. सुवास खकुरेल : यो सूचीको पाँचौ स्थानमा विकेटकीपर/ब्याट्सम्यान सुवास खकुरेलको नाम आउँछ । उनले २०१४ देखि २०१५ सम्म टी-२० म्याच खेल्ने मौका पाएका थिए ।

सुवासले पनि अन्त्र्राष्ट्रिय टी-२० मा एक अर्धशतक बनाएका छन् । उनले ८ म्याचमा ८०.५७ को स्ट्राइक रेटमा १ सय १२ रन बनाएका छन् । टी-२० मा सुवासको उच्च स्कोर ५६ रन हो ।

Loading...