दिल्लीको कप्तानमा पन्त, यस्तो छ उनको आईपीएल करियर

काठमाडौं- आसन्न सिजनको आईपीएलका लागि दिल्ली क्यापिटल्सले नयाँ कप्तान नियुक्त गरेको छ ।

नियमित कप्तान श्रेयस अय्यर चोटका कारण प्रतियोगिता गुमाउने भएपछि दिल्लीले नयाँ कप्तानमा विकेटकीपर ऋषभ पन्तलाई नियुक्त गरेको हो ।

उपकप्तानसमेत रहेका पन्तलाई मंगलबार दिल्लीले कप्तानको जिम्मेवारी दिएको हो ।

गत सिजनको उपविजेतासमेत रहेको दिल्लीका नियमित अय्यर इंग्ल्याण्डसँगको एकदिवसीय सिरिजको पहिलो खेलमा घाइते भएका थिए ।

कप्तानमा नियुक्त भएका पन्त आक्रामक ब्याट्सम्यान हुन् । आईपीएलमै गरेको उत्कृष्ट प्रदर्शनका कारण उनले तिनै अन्तर्राष्ट्रिय प्रारूपमा डेब्यूसमेत गरिसकेका छन् ।

यस्तो छ पन्तको आईपीएल करियर

ऋषभले सन् २०१६ मा तत्कालिन दिल्ली डेयर डेभिल्स अर्थात् अहिलेको दिल्ली क्यापिटल्सबाट आईपीएल डेब्यू गरेका थिए । उनले डेब्यू सिजनमा ८ इनिङ्समा एक अर्धशतकको मद्दतमा १९८ रन बनाएका थिए ।

पन्तले २०१७ मा पनि दिल्लीबाटै आईपीएल खेले । उनले यो सिजनमा १४ म्याचमा दुई अर्धशतकका साथ ३ सय ६६ रन बनाए ।

ऋषभले सन् २०१८ मा पनि दिल्लीबाटै आईपीएल खेल्दै ६८४ रन बनाए । यो सिजन उनको लागि हालसम्मकै उत्कृष्ट रह्यो ।

पन्तले २०१८ को सिजनमा पाँच अर्धशतक र एक शतक बनाएका थिए ।

पन्तले २०१९ मा १६ म्याच खेल्न पाए । यसक्रममा उनले तीन अर्धशतकका साथ ४ सय ८८ रन बनाए ।

ऋषभले गत सिजनमा १४ म्याच खेल्दा एक अर्धशतकको मद्दतमा ३ सय ४३ रन मात्र बनाए । उनले आईपीएलमा हालसम्म ६८ म्याच खेलेका छन् ।

जसमा उनले १०३ छक्का र १८३ चौकाको मद्दतमा २ हजार ७९ रन बनाएका छन् ।

आईपीएल २०२१ मा दिल्लीले पहिलो म्याच १० अप्रिलमा चेन्नई सुपर किंग्स (सीएसके)विरुद्ध खेल्ने छ ।

आईपीएलमा ऋषभको उच्च स्कोर अविजित १२८ रन हो । सो पारी उनले २०१८ को सिजनमा सनराइजर्स हैदराबादविरुद्ध खेलेका थिए ।

सोही सिजनमा नेपाली लेगस्पिनर सन्दीप लामिछानेले पनि डेब्यू गरेका थिए ।

Loading...