दिल्लीका दुई र चेन्नईका एक खेलाडीले पहिलाे म्याच गुमाउने

काठमाडौं- आईपीएल २०२१ मा दोस्रो म्याचमा तीन पटकको विजेता चेन्नई सुपर किंग्स (सीएसके) र गत सिजन उपविजेता दिल्ली क्यापिटल्स खेल्दै छन् ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार २८ चैत साँझ ७ः४५ बजेदेखि सुरू हुनेछ ।

यो पटक दिल्लीमा ऋषभ पन्त कप्तान छन् । नियमित कप्तान चोटका कारण विश्राम गर्ने भएपछि दिल्लीले २३ वर्षीय पन्तलाई कप्तानको जिम्मेवारी दिएको हो ।

सीएसकेमा भने यो पटक पनि महेन्द्रसिंह धोनी कप्तान छन् ।

गत सिजनमा चेन्नई प्लेअफमा पुग्न सकेको थिएन । यो पटक भने चेन्नईले उपाधि जित्ने तरिकाले अक्सनबाट केही खेलाडीलाई अनुबन्ध गरेको छ ।

साथै, चेन्नईमा यो पटक सुरेश रैना पनि छन् । गत सिजनमा व्यक्तिगत कारण देखाउँदै उनले नाम फिर्ता लिएका थिए ।

चेन्नईको टिममा रहेको दक्षिण अफ्रिका तीव्र गतिका बलर लुंगी एनगीडिले सुरूवात म्याच गुमाउने छन् । उनी पाकिस्तानसँगको तीन खेलको वानडे सिरिज सकाएर मात्र भारत जाने छन् ।

पाकिस्तान र भारतबीचको वानडे सिरिज ७ अप्रिलमा सकिने छ । यस्तो अवस्थामा एनगिडी भारत पुग्ने बित्तिकै टिमसँग जोडिन पाउने छैनन् । केही दिन क्वारेन्टाइनमा बसेपछि मात्र उनी उपलब्ध हुने छन् ।

केही दिनअघि मात्र टिमका महत्वपूर्ण तीव्र गतिका बलर जोश हेजलउडले नाम फिर्ता लिएका थिए ।

सुरुवात म्याचमा चेन्नईको सम्भावित-११ : रोबिन उथप्पा, फाफ डूप्लेसी, सुरेश रैना, मोइन अली, महेन्द्रसिंह धोनी (कप्तान/विकेटकीपर), रवीद्र जडेजा, साम करन, दीपक चाहर, शार्दुल ठाकर, इमरान ताहिर र कर्ण शर्मा ।

दिल्लीलाई यो पटक पनि उपाधि दाबेदार टिमको रूपमा हेरिएको छ । आसन्न सिजनमा पनि दिल्लीसँग उत्कृष्ट खेलाडी छन् ।

उसले अक्सनबाट स्टिभ स्मिथ, उमेश यादव, साम बिलिङ्सलगायत चर्चित खेलाडीलाई अनुबन्ध गरेको छ ।

यद्यपि, सुरुवात म्याचमा टिमका महत्वपूर्ण बलर एनरिक नोर्टजे र कागिसो रबाडा भने अनुपस्थित हुनेछन् । उनीहरू पाकिस्तानसँगको एकदिवसीय सिरिजपछि मात्र टिममा जोडिने छन् ।

दिल्लीको सम्भावित प्लेइङ-११ : शिखर धवन, पृथ्वी शा, स्टिभ स्मिथ, ऋषभ पन्त (कप्तान/विकेटकीपर), मार्कस स्टोइनिस, शिमरोन हेटमायर, अक्षर पटेल, रवीचन्द्रन आश्विन, उमेश यादव, क्रिस वोक्स र इशान्त शर्मा ।

Loading...