दक्षिण अफ्रिकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित

काठमाडौं- दक्षिण अफ्रिका विरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा पाहुना टोली पाकिस्तान ३ विकेटले विजयी भएको छ ।

दक्षिण अफ्रिकाले दिएको २ सय ७४ रनको लक्ष्य पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर भेट्टायो ।

उसका लागि कप्तान बाबर आजमले शतकीय पारी खेले । उनले १०४ बलमा १७ चौकासहित १०३ रन बनाए ।

त्यस्तै, इमाउल हकले ७०, मोहम्मद रिजवानले ४० र सादव खानले ३३ रनको योगदान दिए ।

ब्लिङमा एनरिक नोर्टजले करियरकै उत्कृष्ट प्रदर्शन गरे । उनले १० ओभरमा ५१ रन दिएर चार विकेट लिए । यसअघि, वानडेमा नोर्टजेको उत्कृष्ट बलिङ ५७ रन दिएर तीन विकेट लिनु थियो ।

त्यस्तै, एन्डिले फेहलक्वायोले दुई र कागिसो रबाडाले एक विकेट हात पारे ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७३ रन बनायो ।

उसका लागि रस्सीवानडर दुसेनले शतकीय पारी खेले । उनले १३४ बलमा दुई छक्का र १० चौकासहित अविजित १२३ रनको पारी खेले ।

अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा दुसेनको यो उत्कृष्ट पारी हो । यसअघि यो प्रारूपमा उनको उच्च स्कोर ९५ रन थियो ।

त्यस्तै, डेविड मिलरले ५०, एन्डिले फेहलक्वायोले २९, क्विन्टन डिककले २०, एडम कार्करमले १९ र कागिसो रबाडाले नटआउट १३ रन बनाए ।

बलिङमा हरिस रौफ, शाहीनसाह अफ्रिदीले दुई/दुई, मोहम्मद हसनैन र फहीम अस्रफले एक/एक विकेट लिए ।

आजको जितसँगै तीन खेलको सिरिजमा पाकिस्तानले १-० को अग्रता बनाएको छ । यी दुई टिमबीचको दोस्रो वानडे म्याच आइतबार हुनेछ ।

Loading...