जमानको कीर्तिमानी प्रदर्शनका बाबजुद द. अफ्रिकाविरुद्ध हार्‍यो पाकिस्तान

काठमाडौं- दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा पाकिस्तान १७ रनले पराजित भएको छ ।

दक्षिण अफ्रिकाले दिएको ३ सय ४२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय २४ रन मात्र बनाउन सक्यो ।

उसका लागि ओपनर फखर जमानले शानदार ब्याटिङ गरे । उनले १५५ बलमा १० छक्का र १८ चौकासहित १ सय ९३ रन बनाए ।

योसँगै उनले वानडेमा लक्ष्य पछ्याउने क्रममा सर्वाधिक ठूलो पारी खेल्ने विश्वकीर्तिमान समेत बनाएका छन् ।

त्यस्तै, कप्तान बाबर आजमले ३१, आशिफ अलिले १९, सादव खानले १३, मोहम्मद हसनैनले अविजित १२ र फहीम असरफले ११ रन बनाए ।

बलिङमा एनरिक नोर्टजले तीन, एन्डिले फेहलक्वायोले दुई, कागिसो रबाडा र लुंगी एनगिडीले एक/एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको द. अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४१ रन बनायो ।

उसका लागि तीन ब्याट्सम्यानले अर्धशतकीय पारी खेले । कप्तान तेम्बा बावुमा र क्विन्टन डिकक शतक बनाउन चुके ।

बावुमाले १०२ बलमा ९ चौकासहित ९२ र डिककले ८६ बलमा एक छक्का र १० चौकाको मद्दतमा ८० रनको योगदान दिए ।

त्यस्तै, रस्सीवानडर दुसेनले ३७ बलमा ६ चौका र चार छक्कासहित ६० रनको आक्रामक पारी खेले ।

ओपनर एडमन माक्र्मले ३४ बलमा चार चौका र दुई छक्का हिर्काउँदै ३९ रन बनाए ।

त्यस्तै, डेविड मिलरले २७ बलमा तीन छक्का र तीन चौकासहित अविजित ५० रनको योगदान दिँदा हेनरिक क्लासेन ११ रनमा आउट भए ।

बलिङमा हरिस रौफले तीन, फहीम असरफ, मोहम्मद हसनैन र शाहीनसाह अफ्रिदीले एक/एक विकेट लिए ।

दक्षिण अफ्रिकाले आज जित हासिल गरेसँगै सिरिज १-१ को बराबरीमा आएको छ । यी दुई टिमबीचको निर्णायक तथा अन्तिम खेल ७ अप्रिलमा हुनेछ ।

Loading...