आईपीएलमा ऋषभ पन्तलाई ४ कीर्तिमान बनाउने मौका

काठमाडौं- श्रेयस अय्यर चोटका कारण नखेल्ने भएपछि आईपीएल २०२१ मा दिल्ली क्यापिटल्सको कप्तानी विकेटकीपर ऋषभ पन्तले गर्दैछन् ।

उनले पहिलो पटक टिमको कप्तानी गर्न लागेका हुन् ।

पन्त अहिले शानदार लयमा छन् । उनले हालै सम्पन्न इंग्ल्याण्डसँगको सिरिजमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

पन्तले ९ अप्रिलदेखि सुरू हुने आईपीएलमा पनि त्यही लय कायमै राख्न सके टिमलाई ठूलो मद्दत पुग्ने छ ।

ऋषभलाई योपालि आईपीएलमा केही महत्वपूर्ण कीर्तिमान आफ्नो नाममा बनाउने मौका पनि छ । यसैबीच, आज कप्तानको रूपमा पन्तले हासिल गर्न सक्ने चार कीर्तिमानको चर्चा गर्दैछौँ :

१. दिल्लीलाई उपाधि दिलाउने पहिलो कप्तान : हालसम्म दिल्लीले आईपीएल उपाधि हात पार्न सकेको छैन ।

गत सिजनमा पहिलो पटक दिल्ली फाइनलमा पुगेको थियो ।

यो पटक पनि दिल्लीलाई उपाधि दाबेदार टिमको रूपमा हेरिएको छ । उसले अक्सनबाट स्टिभ स्मिथ, साम बिलिङ्स, साम करनलगायत खेलाडीलाई अनुबन्ध गरेको छ ।

युवाले भरिपूर्ण र सन्तुलित बनेको दिल्लीलाई पहिलो पटक उपाधि हात पार्ने मौका छ । गत सिजनमा श्रेयस अय्यरको कप्तानीमा दिल्ली पहिलो पटक फाइनलमा पुगेको थियो ।

यो पटक पन्तलाई पहिलो पटक दिल्लीलाई उपाधि दिलाउँदै नयाँ कीर्तिमान बनाउने सुनौलो अवसर छ ।

२. कप्तानको रूपमा सर्वाधिक रनको कीर्तिमान : पन्तसँग १४औँ सिजनमा कप्तानको रूपमा एक संस्करणमा सर्वाधिक रनको कीर्तिमान बनाउने मौका पनि छ ।

हालसम्म आईपीएलमा कप्तानको रूपमा सर्वाधिक रन बनाउने कीर्तिमान केन विलियम्सनको नाममा छ ।

विलियम्सनले सन् २०१८ मा सनराइजर्स हैदराबादको कप्तानी गर्दै १७ म्याचमा ७ सय ३५ रन बनाएका थिए । उनको यो कीर्तिमान पन्तलाई भंग गर्ने मौका छ ।

उनले हरेक सिजनको आईपीएलमा राम्रो प्रदर्शन गर्दै आएका छन् ।

३. पहिलो सिजनमै कप्तानको रूपमा सर्वाधिक बढी म्याचमा जित : पन्तले आफ्नो डेब्यू कप्तानी सिजनमै सर्वाधिक बढी म्याचमा जित हासिल गर्ने कीर्तिमान पनि बनाउन सक्छन् ।


हालसम्म कप्तानी पाएको पहिलो सिजनमै सर्वाधिक म्याच जिताउने कीर्तिमान शेन वार्नको नाममा छ ।

उनले आफ्नो कप्तानीमा सन् २००८ मा राजस्थान रोयल्सलाई १३ म्याचमा जित दिलाएका थिए ।

सो सिजनमा राजस्थानले उपाधि हात पारेको थियो ।

त्यसयता भने राजस्थानले उपाधि जित्न सकेको छैन । आसन्न सिजनमा सञ्जु सामसनले राजस्थानको नेतृत्व गर्दैछन् ।

४. विकेटकीपर/कप्तानको रूपमा सर्वाधिक रन बनाउने मौका : हालसम्म आईपीएलमा विकेटकीपर/कप्तानको रूपमा सर्वाधिक रन बनाउने कीर्तिमान पञ्जाव किंग्सका कप्तान केएल राहुलको नाममा छ ।

उनले सन् २०२० को सिजनमा १४ पारीमा ६ सय ७० रन बनाएका थिए ।

राहुलको सो कीर्तिमान योपालि पन्तलाई भंग गर्ने मौका छ ।

पन्तले हालसम्म आईपीएलमा ६८ म्याच खेल्दा १२ अर्धशतक र एक शतकको मद्दतमा २ हजार ७९ रन बनाएका छन् ।

Loading...