निर्णायक म्याचमा पाकिस्तानका चार ब्याट्सम्यानको उत्कृष्ट प्रदर्शन

काठमाडौं- एकदिवसीय सिरिजको अन्तिम तथा निर्णायक म्याचमा पाहुना टोली पाकिस्तानले दक्षिण अफ्रिकालाई ३ सय २१ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २० रन बनायो ।

उसका लागि ओपनिङ ब्याट्सम्यान फखर जमानले शतकीय पारी खेले । उनले १०४ बलमा तीन छक्का र ९ चौकासहित १०१ रन बनाए ।

एकदिवसीय क्रिकेटमा जमानको यो छैटौँ शतक हो । अघिल्लो खेलमा उनले १९३ रन बनाएका थिए ।

त्यस्तै, आज कप्तान बाबर आजमले पनि उत्कृष्ट ब्याटिङ गरे । उनले ८२ बलमा सात चौका र तीन छक्कासहित ९४ रनको योगदान दिए ।

इमामउल हकले ७३ बलमा तीन चौकाको मद्दतमा ५७ रन बनाए । बलर हसन अलीलले आज आक्रामक ब्याटिङ गरे ।

उनले ११ बलमा चार छक्का र एक चौकासहित अविजित ३२ रनको विस्फोटक पारी खेले । उनले जोजो स्मर्टसको एक ओभरमा लगातार तीन छक्का हिर्काएका थिए ।

त्यस्तै, सरफराज अहमदले १३ रनको योगदान दिँदा बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा केशव महाराजले तीन, एडम मार्करमले दुई एन्डिले फेहलक्वायो र जोजो स्मट्सले एक/एक विकेट लिए ।

तीन खेलको सिरिजमा दुवै टिमले एकएक खेल जितेका छन् । दक्षिण अफ्रिकाका महत्वपूर्ण खेलाडी आईपीएलका कारण तेस्रो खेलमा उपलब्ध छैनन् ।

क्विन्टन डिकक, कागिसो रबाडा, एनरिक नोर्टजे, डेविड मिलर र लुंगी एनगिडीले आईपीएलका कारण अन्तिम म्याच नखेलेका हुन् ।

Loading...