पाकिस्तानले जित्यो वानडे सिरिज, जमानको कीर्तिमानी प्रदर्शन

काठमाडौं- दक्षिण अफ्रिकासँगको एकदिवसीय सिरिज पाहुना टोली पाकिस्तानले जितेको छ । तेस्रो खेलमा द. अफ्रिकालाई २८ रनले हराउँदै पाकिस्तानले २-१ ले सिरिज जितेको हो ।

निर्णायक खेलमा पाकिस्तानले दिएको ३ सय २१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४९.३ ओभरमा सबै विकेट गुमाएर २ सय ९२ रन मात्र बनाउन सक्यो ।

उसका लागि जान्ने मलानले ७०, कायल भेयर्नेले ६२, एन्डिले फेहलक्वायोले ५४, कप्तान तेम्बा बवुमाले २०, एडन मार्करमले १८, जोजो स्मर्टस, डारेन डुप्भिलोनले १७/१७ र केशव महाराजले १९ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा मोहम्मद नवाज, शाहीनसाह अफ्रिदीले तीन/तीन, हरिस रौफले दुई, हसन अलि र उश्मान कादिरले एक/एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २० रन बनायो ।

उसका लागि ओपनिङ ब्याट्सम्यान फखर जमानले शतकीय पारी खेले । उनले १०४ बलमा तीन छक्का र ९ चौकासहित १०१ रन बनाए ।

एकदिवसीय क्रिकेटमा जमानको यो छैटौँ शतक हो । अघिल्लो खेलमा उनले १९३ रन बनाएका थिए ।

त्यस्तै, आज कप्तान बाबर आजमले पनि उत्कृष्ट ब्याटिङ गरे । उनले ८२ बलमा सात चौका र तीन छक्कासहित ९४ रनको योगदान दिए ।

इमामउल हकले ७३ बलमा तीन चौकाको मद्दतमा ५७ रन बनाए । बलर हसन अलीलले आज आक्रामक ब्याटिङ गरे ।

उनले ११ बलमा चार छक्का र एक चौकासहित अविजित ३२ रनको विस्फोटक पारी खेले । उनले जोजो स्मर्टसको एक ओभरमा लगातार तीन छक्का हिर्काएका थिए ।

त्यस्तै, सरफराज अहमदले १३ रनको योगदान दिँदा बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा केशव महाराजले तीन, एडम मार्करमले दुई एन्डिले फेहलक्वायो र जोजो स्मट्सले एक/एक विकेट लिए । दक्षिण अफ्रिकाका महत्वपूर्ण खेलाडी आईपीएलका कारण तेस्रो खेलमा उपलब्ध भएनन् ।

क्विन्टन डिकक, कागिसो रबाडा, एनरिक नोर्टजे, डेविड मिलर र लुंगी एनगिडीले आईपीएलका कारण अन्तिम म्याच नखेलेका हुन् ।

फखर जमानले रचे इतिहास

पाकिस्तान क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान फखर जमानले इतिहास रचेका छन् । उनले एकदिवसीय क्रिकेटको ५० पारीमा सर्वाधिक रन बनाउँदै इतिहास रचेका हुन् ।

जमानले ५० वानडे म्याच खेल्दा २ हजार २ सय ६२ रन बनाएका छन् । उनी अब पाकिस्तानका लागि ५० पारीमा सर्वाधिक रन बनाउने पहिलो क्रिकेटर बनेका छन् ।

दक्षिण अफ्रिकासँगको एकदिवसीय सिरिजको दोस्रो खेलमा १०१ रनको पारी खेलेसँगै जमानले यो उपलब्धि हासिल गरेका हुन् ।

वानडे क्रिकेटको ५० पारीमा सर्वाधिक रन बनाउने कीर्तिमान भने दक्षिण अफ्रिकाका पूर्वखेलाडी हासिम अमलाको नाममा छ । उनले ५० पारीमा २ हजार ४ सय ८६ रन बनाएका थिए ।

यो सूचीको तेस्रो स्थानमा वेष्ट इण्डिजका साई होपको नाम आउँछ । उनले वानडेको ५० पारीमा २ हजार २ सय ४७ रन बनाएका थिए ।

Loading...