मुम्बईद्वारा आरसीबीलाई मध्यम लक्ष्य, हर्षलको उत्कृष्ट बलिङ

काठमाडौं- १४औँ सिजनको आईपीएलको पहिलो खेलमा मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)लाई १ सय ६० रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५९ रन बनायो ।

उसका लागि क्रिस लिन, सूर्यकुमार यादव र इशान किशनले राम्रो ब्याटिङ गरे ।

लिनले ३५ बलमा चार चौका र तीन छक्कासहित ४९, यादवले २३ बलमा चार चौका र एक छक्कासहित ३१, इशानले १९ बलमा दुई चौका र एक छक्काको मद्दतमा २८ रनको योगदान दिए ।

त्यस्तै, कप्तान रोहित शर्माले १९, हार्दिक पाण्ड्याले १३, कुणाल पाण्ड्या र किरण पोलार्डले सातसात रन बनाए ।

बलिङमा हर्षल पटेलले उत्कृष्ट प्रदर्शन गरे । उनले चार ओभरमा २७ रन दिएर महत्वपूर्ण पाँच विकेट लिए ।

उनले मर्को जनसन, हार्दिक पाण्ड्या, कुणाल पाण्ड्या, किरण पोलार्ड र इशान किशनलाई आउट गरे ।

आईपीएलमा उनको यो करियरकै उत्कृष्ट बलिङ हो । यसअघि आईपीएलमा उनको उत्कृष्ट बलिङ चार ओभरमा १४ रन दिएर तीन विकेट लिनु थियो ।

त्यस्तै, वासिङ्टन सुन्दर र कायल जेमिसनले एक/एक विकेट लिए ।

आज पाँच खेलाडीले डेब्यू गरेका छन् । ग्लेन म्याक्सवेल, रजत पाटीदार, कायल जेमिसनले आरसीबीका लागि डेब्यू गरेका हुन् ।

पाटीदार र जेमिसनको आईपीएल डेब्यू हो । म्याक्सवेलले भने यसअघि विभिन्न टिमबाट आईपीएल खेलिसकेका छन् ।

त्यस्तै, क्रिस लिन र दक्षिण अफ्रिकाका मार्को जनसेनले मुम्बईका लागि डेब्यू गरेका छन् । लिनले यसअघि केकेआरबाट आईपीएल खेले पनि मुम्बईबाट खेल्ने मौका पाएका थिएनन् ।

हालसम्म मुम्बईले पाँच पटक उपाधि जितेको छ । आरसीबीले भने एक पटक पनि उपाधि हात पार्न सकेको छैन ।

आरसीबी हालसम्म तीन पटक फाइनलमा पुगेको छ । टिममा कयौँ स्टार क्रिकेटर जोडिए पनि आरसीबीले उपाधि भने हात पार्न सकेको छैन ।

यो पटक पनि आरसीबीमा केही चर्चित क्रिकेटर जोडिएका छन् ।

ग्लेन म्याक्सेवल, काइल जेमिसन, डानियल क्रिस्टियन लगायतलाई आरसीबीले महँगो मूल्यमा टिममा अनुबन्ध गरेको छ ।

मुम्बईले यो पटक अक्सनबाट पियूष चावला, जिमी नीशम, एडम मिल्नेलगायतलाई अनुबन्ध गरेको थियो ।

मुम्बईको प्लेइङ-११ : रोहित शर्मा (कप्तान), क्रिस लिन, इशान किशन (विकेटकीपर), सूर्यकुमार यादव, मार्को जनसेन, कुणाल पाण्ड्या, किरण पोलार्ड, हार्दिक पाण्ड्या, जसप्रीत बुमराह, ट्रेन्ट बोल्ट र राहुल चहर ।

आरसीबीको प्लेइङ-११ : विराट कोहली (कप्तान), रजत पाटीदार, एबी डिभिलियर्स, ग्लेन म्याक्सवेल, कायल जेमिसन, डान क्रिस्टियन, वाशिङ्टन सुन्दर, हर्षल पटेल, शाहबाज़ अहमद, मोहम्मद सिराज र युजवेन्द्र चहल ।

Loading...