आरसीबी अन्तिम बलमा विजयी, पटेलले रचे इतिहास

काठमाडौं- १४औँ सिजनको आईपीएलको उद्घाटन खेलमा मुम्बई इण्डियन्सविरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) दुई विकेटले विजयी भएको छ ।

मुम्बईले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको आरसीबीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।

उसका लागि एबी डिभिलियर्स र ग्लेन म्याक्सेवलले आक्रामक ब्याटिङ गरे । डिभिलियर्सले २७ बलमा दुई छक्का र चार चौकासहित ४८ र म्याक्सेवलले २८ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा ३९ रन बनाए ।

त्यस्तै, कप्तान विराट कोहलीलले २९ बलमा चार चौकासहित ३३ र वासिङ्टन सुन्दरले १० रनको योगदान दिए ।

बलिङमा जसप्रीत बुमराह, मार्को जनसेनले दुई/दुई, कुणाल पाण्ड्या र ट्रेन्ट बोल्टले एक/एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५९ रन बनायो ।

उसका लागि क्रिस लिन, सूर्यकुमार यादव र इशान किशनले राम्रो ब्याटिङ गरे ।

लिनले ३५ बलमा चार चौका र तीन छक्कासहित ४९, यादवले २३ बलमा चार चौका र एक छक्कासहित ३१, इशानले १९ बलमा दुई चौका र एक छक्काको मद्दतमा २८ रनको योगदान दिए ।

त्यस्तै, कप्तान रोहित शर्माले १९, हार्दिक पाण्ड्याले १३, कुणाल पाण्ड्या र किरण पोलार्डले सात/सात रन बनाए ।

बलिङमा हर्षल पटेलले उत्कृष्ट प्रदर्शन गरे । उनले चार ओभरमा २७ रन दिएर महत्वपूर्ण पाँच विकेट लिए ।

उनले मर्को जनसन, हार्दिक पाण्ड्या, कुणाल पाण्ड्या, किरण पोलार्ड र इशान किशनलाई आउट गरे ।

आईपीएलमा उनको यो करियरकै उत्कृष्ट बलिङ हो । यसअघि आईपीएलमा उनको उत्कृष्ट बलिङ चार ओभरमा १४ रन दिएर तीन विकेट लिनु थियो ।

त्यस्तै, वासिङ्टन सुन्दर र कायल जेमिसनले एक/एक विकेट लिए ।

हर्षल पटेलले तोडे रोहितको १२ वर्ष पुरानो कीर्तिमान

रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)का बलर हर्षल पटेलले नयाँ कीर्तिमान बनाएका छन् ।

उनले मुम्बई इण्डियन्सविरुद्ध सर्वाधिक उत्कृष्ट बलिङ गर्ने कीर्तिमान बनाएका हुन् ।

आज चेन्नईमा भएको पहिलो खेलमा चार ओभरमा २७ रन दिँदै हर्षलले ५ विकेट लिए । योसँगै उनले रोहित शर्माको कीर्तिमान भंग गरेका छन् ।

यसअघि, मुम्बईविरुद्ध उच्च बलिङ प्रदर्शनको रेकर्ड रोहित शर्माको नाममा थियो ।

उनले डेक्कन चार्जर्सबाट खेल्दै सन् २००९ मा २ ओभरमा ६ रन दिएर चार विकेट लिएका थिए ।

रोहितको सो कीर्तिमान पटेलले १२ वर्षपछि भंग गरेका छन् ।

Loading...