भारतमा नेपाल पुलिस क्लबको अर्को शानदार जित, दोस्रो म्याचमा चम्किँए यी खेलाडी

काठमाडौं- भारतको सिक्किममा जारी कञ्चनजंघा सिल्ड ‘ए’ डिभिजन लिगअन्तर्गत रोयल नर्थन ब्रदर्सविरुद्ध नेपाल पुलिस क्लब ९ विकेटले विजयी भएको छ ।

नर्थनले दिएको १२५ रनको लक्ष्य पुलिस क्लबले १६.५ ओभरमा पूरा गर्‍यो ।

उसका लागि दिलिप नाथ र अमित श्रेष्ठले अर्धशतकीय पारी खेले । दिलिपले ५७ बलमा चार छक्का र ६ चौकासहित ६२ र अमितले ४१ बलमा दुई छक्का र ६ चौकाको सहयोगमा अविजित ५० रन बनाए ।

मञ्जित श्रेष्ठ आठ रनमा नटआउट रहे । बलिङमा विनारायण नायरले एक विकेट लिए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको नर्थन ३५.३ ओभरमा सबै विकेट गुमाएर १ सय २४ रन बनायो ।

उसका लागि कप्तान मनोजले अर्धशतकीय पारी खेले । उनले ५९ बलमा तीन छक्का र पाँच चौकासहित ५६ रन बनाए ।

त्यस्तै, विशाल तामाङले १५, कर्माले १४ र रिन्जिंग नामग्याल भूटियाले ११ रनको योगदान दिए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा स्पिनर अनिल खरेलले उत्कृष्ट बलिङ गरे । उनले ८ ओभरमा तीन मेडनसहित २२ रन दिएर तीन विकेट हात पारे ।

त्यस्तै, सिद्धान्त लोहनीले दुई, गुल्शन झा, प्रेम तामाङ, मञ्जित श्रेष्ठ र राशिद खानले एकएक विकेट लिए ।

पहिलो खेलमा नेपाल पुलिसले व्हाइट कोन्चलाई १० विकेटले हराएको थियो । कोन्चले दिएको ६३ रनको लक्ष्य पुलिसले ७.४ बिनाविकेट पूरा गर्‍यो ।

यो लिगमा १० वटा टिमले भाग लिएका छन् ।

त्यसमध्ये ८ वटा टिम सिक्किमको स्थानीय क्लब हुन् भने नेपालबाट नेपाल पुलिस क्लब सहित कोलकाताको राजस्थान क्लब आमन्त्रित टिमको रूपमा लिगमा सहभागी छन् ।

Loading...