घरमा टीभीसमेत थिएन, आईपीएलले एक रातमै बने करोडपति

काठमाडौं- बिहीबार चेन्नईमा सम्पन्न १४औँ सिजनको आईपीएल अक्सनमा टिमहरूले प्रायः युवा खेलाडीमाथि चासो देखाए । अन्तर्राष्ट्रिय क्रिकेटमा चर्चाको शिखरमा रहेका खेलाडी अनसोल्ड हुँदा केही नयाँ क्रिकेटरमाथि भने टिमहरूले पैसाको वर्षा नै गरेका छन् ।

यो पटक घरेलु क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका २२ वर्षीय बलर चेतन सकारियाले पनि अक्सनमा राम्रो मूल्य पाएका छन् ।

२० लाख न्युनतम मूल्य (बेस प्राइस) राखेका उनलाई राजस्थान रोयल्सले १ करोड २० लाख भारुमा अनुबन्ध गर्‍यो ।

चेतनको परिवारको कमजोर आर्थिक स्थिति छ । आर्थिक स्थिति कमजोरकै कारण उनको परिवारले ठूलो संघर्ष गर्नुपर्‍यो । गत वर्षसम्म उनको घरमा टेलिभिजनसमेत थिएन ।

टीभीमा चेतनको म्याच हेर्नका लागि उनको परिवारका सदस्य छिमेकीको घरमा जान्थे । तर, अब भने उनको जीवनशैली परिवर्तन भएको छ ।

एक वर्षअघि र अबको चेतनको परिवारको जीवनशैलीमा निकै परिवर्तन आएको छ । २० लाख बेस प्राइस राखेका उनले कयौँ गुणा बढी पैसा पाउनेछन् । अझ भनौ अब चेतनका सुःखका दिन सुरु भए ।

चेतनले सौरष्ट्रको टिमबाट क्रिकेट करियर सुरु गरेका हुन् । चेतनले सौराष्ट्रका लागि हालसम्म १५ प्रथम श्रेणी म्याच खेलेका छन् । जसमा उनले ४१ विकेट लिएका छन् ।

प्रथम श्रेणी क्रिकेटको एक पारीमा चेतनको उच्च प्रदर्शन ६३ रन दिएर ६ विकेट लिनु हो । उनले हालै सम्पन्न सैयद मुश्ताक अली ट्रफी टी-२० प्रतियोगितामा ५ म्याचमा १२ विकेट लिएका थिए ।

लगातार उत्कृष्ट प्रदर्शनकै कारण चेतनले एमआरएफ पेस एकेडेमीमा ट्रेनिङको अवसरसमेत पाए । सो एकेडेमीमा उनलाई अष्ट्रेलियाका पूर्वस्टार बलर ग्लेन म्याग्राले समेत ट्रेनिङ दिएका थिए ।

राजस्थानको पूर्ण टिम : सञ्जु सामसन (कप्तान), जोस बटलर, बेन स्टोक्स, यशस्वी जैसवाल, मनन बोहरा, अनुज रावत, रियान पराग, डेविड मिलर, राहुल तेवतिया, महिपाल लोमर, श्रेयस गोपाल, मयंक मार्कंडे, जोफ्रा आर्चर, एन्ड्र्यू टाय, जयदेव उनादकट, कार्तिक त्यागी, शिवम दुबे, क्रिस मोरिस, मुस्तफिजुर रहमान, चेतन सकरिया, केसी करियप्पा, लियाम लिभिंगस्टोन, कुलदीप यादव र आकाश सिंह ।

Loading...