दिल्ली क्यापिटल्सको विजयी सुरुवात, पृथ्वी र धवनले बनाए कीर्तिमान

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत चेन्नई सुपर किंग्स (सीएसके)विरुद्ध दिल्ली क्यापिटल्स ७ विकेटले विजयी भएको छ ।

सीएसकेले दिएको १ सय ८९ रनको लक्ष्य दिल्लीले १८.४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि शिखर धवन र पृथ्वी शाले शानदार ब्याटिङ गरे । पृथ्वीले ३८ बलमा नौ चौका र तीन छक्कासहित ७२ रनको पारी खेले ।

त्यस्तै, शिखरले ५४ बलमा १० चौका र दुई छक्काको सहयोगमा ८५ रन बनाए ।

उनीहरूबीच पहिलो विकेटका लागि १३८ रनको साझेदारी बन्यो । धवन र शाबीच भएको यो चेन्नईविरुद्ध इतिहासकै दोस्रो ठूलो साझेदारी हो ।

कप्तान ऋषभ पन्त १५ रनमा अविजित रहँदा मार्कस स्टोइनिस १४ रनमा आउट भए । बलिङमा शार्दुल ठाकुरले दुई र ड्वेन ब्रावोले एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको सीएसकेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनायो ।

उसका लागि सुरेश रैनाले अर्धशतकीय पारी खेले । उनले ३६ बलमा तीन चौका र चार छक्कासहित ५४ रन बनाए ।

त्यस्तै, मोइन अलीले ३६, अम्बाती रायडूले २३ रनको योगदान दिए । अलराउन्डर साम करनले आक्रामक ब्याटिङ गरे ।

उनले १५ बलमा दुई छक्का र चार चौकासहित ३४ रन बनाए । त्यस्तै, रवीन्द्र जडेजा २६ रनमा अविजित रहे ।

बलिङमा आवेश खान, क्रिस वक्सले दुई/दुई, रवीचन्द्रन आश्विन र टम करनले एक/एक विकेट हात पारे ।

Loading...