भारतमा ‘ए’ डिभिजन लिग : योगेन्द्रको अर्धशतक, गरे चौकाको वर्षा

काठमाडौं- भारतको सिक्किममा जारी कञ्चनजंघा सिल्ड ‘ए’ डिभिजन लिगअन्तर्गत गेइजिङ तथा जिल्ला क्रिकेट कल्याण संघविरुद्धको खेलमा नेपाल पुलिस क्लबका अलराउन्डर योगेन्द्रसिंह कार्कीले अर्धशतक बनाएका छन् ।

उनले ५२ बलमा ७ चौकासहित अर्धशतक बनाएका हुन् ।

पहिला ब्याटिङ गरेको पुलिस क्लबले यो समाचार तयार पार्दासम्म ३४ ओभरमा ६ विकेट गुमाएर २ सय २१ रन बनाएको छ ।

पुलिसले यसअघि शंकर रानालाई ६५, सिद्धान्त लोहनीलाई ३२, अनिलकुमार साहलाई १३, दिलिप नाथलाई १२,  प्रेम तामाङ सात र गुल्शनकुमार झालाई १ रनमा रनमा गुमाएको छ ।

यसअघि खेलेका दुई म्याचमा नेपाल पुलिस क्लबले जित हासिल गरिसकेको छ ।

उसले पहिलो खेलमा व्हाइट कोन्चलाई १० विकेट र दोस्रो म्याचमा रोयल नर्थन ब्रदर्सलाई ९ विकेटले हराएको थियो ।

यो एकदिवसीय प्रतियोगितामा १० वटा टिमले भाग लिएका छन् ।

त्यसमध्ये ८ वटा टिम सिक्किमको स्थानीय क्लब हुन् भने नेपालबाट नेपाल पुलिस क्लब सहित कोलकाताको राजस्थान क्लब आमन्त्रित टिमको रूपमा लिगमा सहभागी छन् ।

Loading...