भारतमा नेपाल पुलिसको अर्को फराकिलो जित, योगेन्द्र-सिद्धान्तको अविश्वसनीय प्रदर्शन

काठमाडौं- भारतको सिक्किममा जारी कन्चनजंगा शिल्ड डिभिजन ‘ए’ लिग खेलअन्तर्गत ज्ञालसिंह एण्ड डिस्टिक वेलफेयर क्रिकेट (जिडिसिडब्लूए)विरुद्ध नेपाल पुलिस क्लब २ सय ४९ रनले विजयी भएको छ ।

जारी प्रतियोगितामा पुलिसको यो लगातार तेस्रो जित हो ।

यसअघि पुलिसले पहिलो खेलमा व्हाइट कोन्चलाई १० विकेट र दोस्रो म्याचमा रोयल नर्थन ब्रदर्सलाई ९ विकेटले हराएको थियो ।

पुलिस क्लबले दिएको ३ सय ८८ रनको लक्ष्य पछ्याएको जीडीसीडब्लूएले ३७.३ ओभरमा सबै विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो । उसका लागि तुषार त्यागीले सर्वाधिक ५८ रन बनाए ।

बलिङमा अलराउन्डर सिद्धान्त लोहनीले उत्कृष्ट प्रदर्शन गरे । उनले ८.३ ओभरमा तीन मेडनसहित २१ रन दिएर ६ विकेट लिए ।

त्यस्तै, प्रेम तामाङले दुई, अनिल खरेल र सागर ढकालले एक/एक विकेट हात पारे ।

टस जितेर पहिला ब्याटिङ गरेको पुलिस क्लबले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ८६ रन बनायो ।

उसका लागि योगेन्द्रसिंह कार्कीले शानदार पारी खेले । उनले ११७ बलमा ७ छक्का र १८ चौकासहित अविजित १७१ रन बनाए ।

त्यस्तै, शंकर रानाले ६६ बलमा दुई छक्का र आठ चौकाको मद्दतमा ६५ रनको योगदान दिए ।

त्यस्तै, सिद्धान्त लोहनी ३२, कप्तान अनिलकुमार साह १३, दिलिप नाथ १२, प्रेम तामाङ सात र गुल्शन झा १ रनमा आउट भए ।

आठौँ नम्बरमा ब्याटिङमा आएका अविनाश कर्णले पनि उत्कृष्ट प्रदर्शन गरे । उनले ५० बलमा ५ चौकासहित नटआउट ४२ रन बनाए ।

बलिङमा नारजुङ लेप्ताले सर्वाधिक दुई विकेट लिए ।

Loading...