मोरिस चम्किँदा दिल्लीविरुद्ध राजस्थानको रोमाञ्चक जित

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत दिल्ली क्यापिटल्सविरुद्ध राजस्थान रोयल्स तीन विकेट विजयी भएको छ ।

जारी प्रतियोगितामा राजस्थानको यो पहिलो जित हो ।

पहिलो खेलमा राजस्थानले पञ्जाब किंग्सविरुद्ध चार रनले हारको सामना गरेको थियो ।

आफ्नो दोस्रो खेलमा दिल्लीले दिएको १ सय ४८ रनको लक्ष्य राजस्थानले १९.४ ओभरमा सात विकेट गुमाएर भेट्टायो ।

उसका लागि डेविड मिलर र क्रिस मोरिसले आक्रामक ब्याटिङ गरे ।

मिलरले ४३ बलमा दुई छक्का र सात चौकासहित ६२ र मोरिसले १८ बलमा चार छक्कासहित अविजित ३६ रन बनाए ।

त्यस्तै, राहुल तेवटियाले १९, र जयदेव उनादकटले अविजित ११ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा आवेश खानले तीन, क्रिस वक्स र कागिसो रबाडाले दुई/दुई विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन बनायो ।

उसका लागि कप्तान ऋषभ पन्तले अर्धशतकीय पारी खेले । उनले ३२ बलमा ९ चौकासहित ५१ रन बनाए ।

त्यस्तै, टम करनले २१, ललित यादवले २० र क्रिस वक्सले अविजित १२ रन बनाए । बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा जयदेव उनादकटले तीन, मुस्तफिजुर रहमानले दुई र क्रिस मोरिसले एक विकेट लिए ।

Loading...