जित्नै लागेको म्याच हारेपछि पन्तले दिए यस्तो प्रतिक्रिया

काठमाडौं- १४औँ सिजनको आईपीएलअन्तर्गत राजस्थानविरुद्ध तीन विकेटले हारको सामना गर्नु परेपछि दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले आफ्नो प्रतिक्रिया दिएका छन् ।

म्याच सकिएपछि प्रेस कन्फरेन्समा बोल्दै पन्तले ब्याटिङ चल्न नसक्नु नै दिल्लीको हारको मुख्य कारण भनेका छन्, ‘दिल्ली हार्नुको मुख्य कारणमा हामीले सुरुवात राम्रो गरेनौँ । साथै, दोस्रो पारीमा मैदान ओसिलो भएको देखियो । जसकारण पनि अन्तिम ओभरहरूमा हाम्रा बलरलाई मद्दत पुगेन ।’

पन्तले राजस्थानसँग गरेको गल्तीलाई सच्याउँदै आगामी म्याचमा सुधार गर्ने बताउनुका साथै बलरको प्रदर्शनप्रति सन्तुपष्ट नै रहेकोसमेत बताए ।

‘बलरले दिल्लीलाई राम्रो सुरुवात दिलाए । तर, अन्तिममा पीच ओसिलो भएका कारण सुस्त गतीमा बलिङ गर्न सकिएन,’ पन्तले भने, ‘राजस्थानसँगको हारबाट हामीले धेरै कुरा सिकेका छौँ । आगामी दिनमा ती गल्तीलाई सुधार गर्दै प्रदर्शन गर्ने छौँ ।’

जारी संस्करणमा पन्तको कप्तानीमा दिल्लीको यो पहिलो हार हो । दिल्लीले पहिलो खेलमा चेन्नई सुपर किंग्स (सीएसके)लाई सात विकेटले हराएको थियो ।

दिल्लीले आफ्नो तेस्रो म्याच आइतबार पञ्जाब किग्सविरुद्ध खेल्ने छ ।

Loading...