त्रिकोणात्मक टी-२० सिरिजको ट्रफी सार्वजनिक

काठमाडौं- भोलिदेखि सुरू हुने नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीचको त्रिकोणात्मक टी-२० सिरिजको ट्रफी सार्वजनिक गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज पत्रकार सम्मेलन गरी नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्याड्सका पिटर सीलार र मलेसिया कप्तान फैज अहमदका सामु ट्रफी सार्वजनिक गरेको हो ।

यो सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

नेपालले लमो समयपछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । नेपालले अन्तिम पटक ४ मार्च २०२० मा अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो ।

कोरोना महामारीका कारण नेपालले यो बीचमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाएन । अन्तर्राष्ट्रिय प्रतियोगिता स्थगित भए पनि पछिल्लो समय भने नेपाली खेलाडीले घरेलु प्रतियोगिता निरन्तर खेलिरहेका छन् ।

साथै, नेपाल टिमले यो बीचमा नयाँ प्रशिक्षसमेत पाएको छ । नयाँ प्रशिक्षको रूपमा नेपालले डेभ वाटमोरलाई पाएको हो ।

वाटमोरको प्रशिक्षणमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय म्याच खेल्दैछ ।

नेपालले घरेलु मैदानमा पहिलो पटक त्रिकोणात्मक टी-२० सिरिज खेल्दैछ । यसअघि २०१९ मा भएको १३ औँ सागमा नेपालले टी-२० क्रिकेट खेलेको थियो । जसमा भुटान र माल्दिभ्ससँग खेलेको खेलले टी-२० मान्यता पाए पनि त्यो सिरिज थिएन ।

Loading...