आईपीएलमा २०२१ मा चेन्नईको पहिलो जित

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलको आठौँ म्याचमा पञ्जाब किंग्सविरुद्ध चेन्नई सुपर किंग्स (सीएसके) ६ विकेटले विजयी भएको छ ।

पञ्जाबले दिएको १ सय ७ रनको लक्ष्य चेन्नईले १५.४ ओभरमा चार विकेट गुमाएर भेट्टायो ।

उसका लागि मोइन अलीले ४६ र फाफ डुप्लेसिसले अविजित ३६ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा मोहम्मद शामीले दुई, मुर्गन आश्विन र अर्शदीप सिंहले एक/एक विकेट लिए ।

त्यसअघि, मुम्बईको वाङखडे मैदानमा टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६ रन बनायो ।

उसका लागि साहरुख खानले राम्रो पारी खेले । उनले ३६ बलमा चार चौका र दुई छक्कासहित ४७ रन बनाए । शाहरुखको यो दोस्रो म्याच हो ।

त्यस्तै, झय रिचडर्सनले १५, क्रिस गेल र दीपक हूडाले १०/१० रन जोड्न बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

बलिङमा दीपक चाहरले चार ओभरमा एक मेडनसहित चार विकेट लिएर १४ रन मात्र दिए । त्यस्तै, मोइन अली, ड्वेन ब्रावो र साम करनले एक/एक विकेट हात पारे ।

जारी सिजनमा चेन्नईको यो पहिलो जित हो । पहिलो खेलमा चेन्नई दिल्ली क्यापिटल्सविरुद्ध सात विकेटले पराजित भएको थियो ।

पञ्जाबको भने यो पहिलो हार हो । उसले पहिलो खेलमा राजस्थान रोयल्सलाई चार रनले हराएको थियो ।

Loading...