नेपाल-नेदरल्याण्ड्सको म्याच आज, यस्तो छ दुवै टोलीको सम्भावित-११

काठमाडौं- आजदेखि घरेलु मैदानमा सुरू हुने त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सको सामना गर्नेछ ।

नेपाल र नेदरल्याण्ड्सबीचको खेल नेपाली समयअनुसार दिउँसो १ः१५ बजेदेखि टियू मैदानमा सुरू हुनेछ ।

नेपालले लमो समयपछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । नेपालले अन्तिम पटक ४ मार्च २०२० मा अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो ।

कोरोना महामारीका कारण नेपालले यो बीचमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाएन । अन्तर्राष्ट्रिय प्रतियोगिता स्थगित भए पनि पछिल्लो समय भने नेपाली खेलाडीले घरेलु प्रतियोगिता निरन्तर खेलिरहेका छन् ।

साथै, नेपाल टिमले यो बीचमा नयाँ प्रशिक्षसमेत पाएको छ । नयाँ प्रशिक्षको रूपमा नेपालले डेभ वाटमोरलाई पाएको हो ।

वाटमोरको प्रशिक्षणमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय म्याच खेल्दैछ ।

घरेलु मैदानमा हुने यो सिरिजमा नेपाली खेलाडीलाई राम्रो क्रिकेट खेल्ने मौका छ । चोटका कारण टिमका महत्वपूर्ण सदस्य पारस खड्काले सिरिज गुमाउने भएपछि नेपाली टिम केही कमजोर देखिएको छ ।

पारसको स्थानमा टिममा सन्दीप जोरालाई समावेश गरिएको छ । पछिल्लाा चार खेलमा दुवै टिमले दुईरदुई म्याच जितेका छन् ।

नेपालको सम्भावित प्लेइङ-११ : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप जोरा, विनोद भण्डारी (विकेटकीपर), आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र सुशन भारी ।

नेदरल्याण्ड्सको सम्भावित-११ : पिटर सिलार (कप्तान), टोबियस भिसे, बेन कूपर, म्याक्सओ दाउद, विक्रमजीत सिंह, स्कट एडवर्ड्स, आर्यन दत्त, फिलिप बोइसेभ्यान, पलभ्यान मिक्रेन, टोनी स्टाल र सेबस्टियान ब्राट ।

Loading...