काठमाडौं । आईसीसी टी–२० विश्वकप ट्रफी भक्तपुरमा पनि प्रदर्शनीमा राखिएको छ । आईसीसी ट्रफी टुरअन्तर्गत नेपाल ल्याइएको टी-२० विश्वकप ट्रफी बुधबार भक्तपुरमा प्रदर्शनीमा राखिएको हो । ट्रफी टुरमा नेपाली क्रिकेटर मेहबुब आलम, शरद भेषावकर, महिला टिमकी कप्तान रुबिना क्षेत्री सहभागी थिए ।
यस्तै, पूर्वकप्तान तथा हाल नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दास पनि टुरमा सहभागी छन् । ट्रफी हेर्न स्कुलका विद्यार्थीहरु समेत उपस्थित भएका थिए । यस्तै, धिमे बाजा, बाँजुरी र लाखे समेत देखाइएको थियो । ट्रफीलाई दरबार स्क्वायरबाट पाँचतेल मन्दिर पुर्याएर फेरि दरबार स्क्वावरमै ल्याइएको थियो ।
सोमबार नेपाल ल्याइएको ट्रफी मंगलबार काठमाडौंको चन्द्रागिरिमा प्रदर्शनी गरिएको थियो भने मंगलबारै बेलुका होटल हायतमा गाला डनर कार्यक्रम आयोजना गरिएको थियो । ट्रफीलाई गोक्यो ताल र कालापत्थर लैजाने भनिए पनि मंगलबार मौसमको खराबीले हेलिकोप्टर जान नसक्ने भएपछि ट्रफीलाई चन्द्रगिरिमा लगिएको हो ।
ट्रफीसँग नेपाल आएका आईसीसी मार्केटिङ एण्ड कम्युनिकेसन प्रतिनिधि शोमेरेस सेट्टीले धेरै समर्थकको माझ पुर्याउने उद्देश्यका साथ यो ट्रफी टुर गरिएको बताएका थिए । ट्रफी टुरमा सेट्टी र कलाकार सरोज खनाल पनि सहभागी थिए । यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकप ट्रफी नेपालमा ल्याइएको थियो ।
त्यतिबेला काठमाडौं र पोखरामा प्रदर्शन गरिएको छ । विश्वकप ट्रफीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पनि अवलोकन गरेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा ट्रफी अवलोकन गरेका हुन् । विश्वकपको ट्रफी १३ देशका ३५ स्थानमा पुर्याइनेछ । टी– २० विश्वकपको ट्रफी नेपालमा पहिलोपटक आएको हो ।
तस्बिरमा हेरौं नेपालमा विश्वकप ट्रफी टूर । तस्बिर : क्यान