नेदरल्याण्ड्सविरुद्ध नेपालको शानदार जित, कुशल-आशिफले रचे इतिहास

काठमाडौं- आजदेखि काठमाडौंमा सुरू भएको त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ९ विकेटले विजयी भएको छ ।

नेदरल्याण्ड्सले दिएको १ सय ३७ रनको लक्ष्य नेपालले १५ ओभरमा एक विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले उत्कृष्ट ब्याटिङ गरे । कुशलले ४६ बलमा पाँच चौका र पाँच छक्कासहित ६२ रन बनाए ।

योसँगै उनले डेब्यू म्याचमै कम बलमै अर्धशतक बनाउने कीर्तिमानसमेत बनाएका छन् । कुशलले ३० बलमा अर्धशतक पूरा गरेका थिए ।

त्यस्तै, अर्का ओपनर शेखले ३८ बलमा चार चौका चार छक्कासहित अविजित ५४ रन बनाए । उनको पनि यो डेब्यू म्याच हो ।

आशिफ र कुशलबीच पहिलो विकेटका लागि ११६ रनको साझेदारी बन्यो । योसँगै उनीहरूले पारस खड्का र ज्ञानेन्द्र मल्लको कीर्तिमान भंग गरेका छन् ।

यसअघि टी–२० मा नेपालको तर्फबाट पहिलो विकेटका लागि पारस र ज्ञानेन्द्रबीच १०८ रनको साझेदार बनेको थियो । उनीहरूको सो कीर्तिमान आज कुशल र आशिफले भंग गरेका छन् ।

नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले नटआउट १३ रनको योगदान दिए ।

बलिङमा जुलियनडे मेले एक विकेट लिए ।

त्रिवि मैदानमा टस हारेर ब्याटिङको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३६ रन बनायो ।

उसका लागि बासडी लीडेले ४१, स्कट इड्रवासले ३०, म्याक्स ओदाउदले १०, कप्तान पीटार सीलारले नटआउट २२ र एनोनियस स्टालले अविजित २० रन बनाए ।

बलिङमा सन्दीप लामिछानेले सर्वाधिक दुई विकेट लिए ।

उनले चार ओभरमा २२ रन दिएर दुई विकेट हात पारे । त्यस्तै, साहब आलम र सोमपाल कामीले एक/एक विकेट लिए ।

Loading...