म्याक्सले इतिहास रचेको खेलमा नेदरल्याण्ड्सको रोमाञ्चक जित

काठमाडौं  : काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत मलेसियाविरुद्ध नेदरल्याण्ड्स १५ रनले विजयी भएको छ ।

जारी सिरिजमा नेदरल्याण्ड्सको यो पहिलो जित हो । शनिबार सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्स नेपालविरुद्ध ९ विकेटले पराजित भएको थियो ।

सिरिजको दोस्रो खेलमा नेदरल्याण्ड्सले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७६ रन बनायो ।

उसका लागि वीरन्दीप सिंहले आक्रामक पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् । उनले ५३ बलमा ६ छक्का र ६ चौकासहित ८७ रन बनाए ।

शेरविन मुननिआन्डेले २८ र अमीनउद्दीन रिम्लीले २६ रन बनाउँदा बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा आर्यन दत्त, बासडी लिडे र सेबस्टियान ब्रेटले सर्वाधिक दुई/दुई विकेट लिए ।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्सले मलेसियालाई १ सय ९१ रन बनायो ।

उसका लागि म्याक्स दाउदले शतकीय पारी खेले । उनले ७३ बलमा १५ चौका र ६ छक्कासहित अविजित १३३ रन बनाए ।

अन्तर्राष्ट्रिय टी-२० मा उनको यो पहिला शतक हो । साथै, उनले यो प्रारूपमा शतक बनाउने पहिलो नेदरल्याण्ड्सको क्रिकेटरको कीथिर्तमान समेत बनाएका छन् ।

म्याक्सले ५९ बलमा शतक पूरा गरेका थिए । शनिबार भएको पहिलो खेलमा नेपालविरुद्ध १० रनमा आउट भएका थिए ।

त्यस्तै, स्कट इड्रवासले ३३ र बेन कपूरले नटआउट २० रनको योगदान दिए । बलिङमा अवर रहमान र वीरन्दीप सिंहले एक/एक विकेट लिए ।

 

Loading...