केकेआरले पायो विशाल लक्ष्य, डिभिलियर्स र म्याक्सवेलले गरे चौका/छक्काको वर्षा

काठमाडौं : १४औँ सिजनको आईपीएलको १०औँ म्याचमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले कोलकाता नाइट राइडर्स (केकेआर)लाई २ सय ५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनायो ।

उसका लागि ग्लेन म्याक्सेवल र एबी डिभिलियर्सले आक्रामक पारी खेले ।

म्याक्सवेलले ४९ बलमा ९ चौका र तीन छक्कासहित ७८ रन बनाए । जारी सिजनमा उनको यो लगातार दोस्रो अर्धशतक हो ।

त्यस्तै, डिभिलियर्सले ३४ बलमा ९ चौका र ४ छक्काको मद्दतमा अविजित ७६ रनको योगदान दिए । आईपीएल २०२१ मा उनको यो पहिलो अर्धशतकीय पारी हो ।

देवदत्त पाडिक्कलले २५, कायल जेमिसनले अविजित ११ रन बनाउँदा कप्तान विराट कोहली पाँच र रजत पाटिदार एक रनमै आउट भए ।

बलिङमा वरुण चक्रवर्तीले दुई, प्याट कमिन्स र प्रशिद्ध कृष्णाले एक/एक विकेट लिए ।

जारी सिजनमा आरसीबीले दुई म्याच खेल्दा दुवैमा जित हासिल गरेको छ । केकेआरले दुई म्याचमा एकमा जित र एक खेलमा हारको सामना गरेको छ ।

Loading...