शिखर चम्किँदा पञ्जाबविरुद्ध दिल्लीको फराकिलो जित

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलको ११औँ म्याचअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स ६ विकेटले विजयी भएको छ ।

मुम्बईको वाङ्खडे स्टेडियममा भएको खेलमा पञ्जाबले दिएको १ सय ९६ रनको लक्ष्य दिल्लीले १८.२ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि शिखर धवनले उत्कृष्ट पारी खेले । उनले ४९ बलमा दुई छक्का र १३ चौकासहित ९२ रनको योगदान दिए ।

त्यस्तै, पृथ्वी शाले ३२, मार्कस स्टोइनिसले अविजित २३, कप्तान ऋषभ पन्तले ११, ललित यादवले नटआउट १२ र स्टिभ स्मिथले ९ रन बनाए ।

बलिङमा झय रिचडर्सनले दुई, रिली मेरिडीथ र अर्शदीप सिंहले एक/एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १ सय ९५ रन बनायो ।

उसका लागि मयंक अग्रवाल र केएल राहुलले अर्धशतकीय पारी खेले ।

मयंकले ३६ बलमा सात चौका र चार छक्कासहित ६९ र राहुलले ५१ बलमा सात चौका र दुई छक्काको मद्दतमा ६१ रन बनाए ।

त्यस्तै, दीपक हूडाले अविजित २२, साहरुख खानले नटआउट १५, निकोलश पूरनले ९ र क्रिस गेलले ११ रनको योगदान दिए ।

बलिङमा आवेश खान, लुकमान मेरिवाला, क्रिस वक्स र कागिसो रबाडाले एक/एक विकेट लिए ।

आजको जितसँगै दिल्ली तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले तीन म्याचमध्ये एक खेलमा मात्र हारको सामना गरेको छ ।

११ म्याच सकिँदा अंक तालिका :

Loading...