नेपाल र मलेसियाको म्याच आज, यस्तो छ दुवै टिमबीचको ‘हेड टू हेड’

काठमाडौं- काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा आफ्नो दोस्रो खेलमा आज नेपाल र मलेसिया खेल्दै छन् ।

यी दुई टिमबीचको खेल दिउँसो १ः१५ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ ।

पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो । पहिलो खेलमै फराकिलो जित हासिल गरेको नेपाली टिममा आत्मविश्वास भरिएको छ ।

आइतबार भएको नेदरल्याण्ड्ससँगको खेलमा मलेसियाले पनि राम्रो क्रिकेट खेल्यो । बलिङ लाइन कमजोर देखिएको मलेसियाले ब्याटिङ भने राम्रो गर्‍यो ।

मलेसिया टिमका युवा ब्याट्सम्यान वीरन्दीप सिंहले नेदरल्याण्ड्सका बलरलाई अन्तिमसम्म दबाबमा राखे । उनले ५३ बलमा ६ छक्का र ६ चौकासहित ८७ रनको आक्रामक पारी खेले ।

उनी मलेसियाका लागि लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । उत्कृष्ट लयमा रहेका सिंह नेपाली बलरलाई पनि दबाब दिन सक्छन् ।

मलेसियाविरुद्ध पनि नेपालले अघिल्लो खेलकै प्लेइङ-११ लाई निरन्तरता दिने सम्भावना छ । पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले सोही लय दोहोर्‍याउन चाहन्छ ।

हेड टू हेड

हालसम्म नेपाल र मलेसियाबीच चार टी-२० र चार टी-२० अन्तर्राष्ट्रिय खेल भएको छ । जसमा नेपालले तीन टी-२० र तीन टी-२० अन्तराष्ट्रियमा जित निकालेको छ ।

मलेसियाले पछिल्लो पटक भएको एसीसी इस्टर्न रिजन टी-२० मा नेपाललाई पराजित गरेको थियो । उक्त खेलमा नेपाल २२ रनले पराजित भएको थियो ।

मलेसिया नेपालविरुद्ध त्यही लय र आत्मविश्वासलाई फेरी एक पटक टियू क्रिकेट मैदानमा फकाउन चाहन्छ ।

नेपालको सम्भावित प्लेइङ-११ : ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, विनोद भण्डारी, आशिफ शेख, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, कुशल भुर्तेल र साहब आलम ।

मलेसियाको सम्भावित प्लेइङ-११ : सायद अजिज, अनवर अरुदीन, अहमद फेज (कप्तान), वीरन्दीप सिंह, अमिनुदीन राम्ली, शफिक सरिफ (विकेटकिपर), खिजार हायत, मुहमद वाफिक, शर्विन मुनीदी, पवनदीप सिंह, र अनवर रहमान।

Loading...