मलेसियाविरुद्ध नेपालको शानदार जित, आज पनि बने महत्वपूर्ण कीर्तिमान

काठमाडौं- काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत मलेसियाविरुद्ध नेपाल ९ विकेटले विजयी भएको छ ।

मलेसियाले दिएको १ सय १० रनको सामान्य लक्ष्य नेपालले १२.१ ओभरमा एक विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि आज पनि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले उत्कृष्ट ब्याटिङ गरे ।

कुशलले आज ४१ बलमा पाँच छक्का र तीन चौकासहित अविजित ६१ रनको योगदान दिए ।

कुशलको यो लगातार दोस्रो अर्धशतक हो । उनले शनिबार डेब्यूमै नेदरल्याण्ड्सविरुद्ध पनि अर्धशतक बनाएका थिए ।

योसँगै कुशलले नयाँ कीर्तिमान बनाएका छन् । उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको तर्फबाट लगातार दुई खेलमा अर्धशतक बनाउने ब्याट्सम्यानको कीर्तिमान बनाएका हुन् ।

त्यस्तै, अर्का ओपनर आशिफ शेखले २९ बलमा एक छक्का र चार चौकाको मद्दतमा ४२ रन बनाउँदा दीपेन्द्रसिंह ऐरी ६ रनमा अविजित रहे ।

आशिफ र कुशलबीच आज पहिलो विकेटका लागि १०२ रनको साझेदारी बन्यो ।

योसँगै उनीहरूले टी-२० अन्तर्राष्ट्रियमा नेपालको तर्फबाट लगातार दुई खेलमा पहिलो विकेटका लागि एक सय बढीको साझेदारी गर्ने ब्याट्सम्यानको कीर्तिमान बनाएका छन् ।

शनिबार नेदरल्याण्ड्सविरुद्ध कुशल र आशिफले पहिलो विकेटका लागि ११६ रनको साझेदारी बनाएका थिए ।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको मलेसिया १६.५ ओभरमा १०९ रन बनाएर अलआउट भयो ।

उसका लागि सैयद अजीजले २७, शेरविन मुनिआन्डेले २० र सफिक सरिफले १५ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा करण केसीले उत्कृष्ट प्रदर्शन गरे । उनले तीन ओभरमा १७ रन दिएर तीन विकेट लिए ।

त्यस्तै, सन्दीप लामिछानेले दुई, साहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट हात पारे ।

Loading...