नेपाल र नेदरल्याण्ड्सको म्याच भोलि, यस्तो छ दुवै टोलीको सम्भावित-११

काठमाडौं- काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत भोलि (मंगलबार) नेपालले नेदरल्याण्ड्सको सामना गर्नेछ ।

नेपाल र नेदरल्याण्ड्सबीचको खेल दिउँसो १ः१५ बजेदेखि टियू क्रिकेट मैदानमा सुरू हुनेछ ।

उत्कृष्ट लयमा रहेका यी नेपाल र नेदरल्याण्ड्सबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । पहिलो खेलमा नेपालविरुद्ध ९ विकेटले पराजित भए पनि दोस्रो खेलमा नदेरल्याण्ड्सले उत्कृष्ट ‘कमब्याक’ गरेको थियो ।

नेदरल्याण्ड्सका ओपनिङ ब्याट्सम्यान म्याक्स ओदाउद उत्कृष्ट लयमा फर्किएका छन् । उनले आइतबार मलेसियाविरुद्ध अविजित १३३ रनको पारी खेलेका थिए ।

बलिङमा केही कमजोर देखिएको नेदरल्याण्ड्सले आफ्नो तेस्रो खेलमा नेपाललाई हराउने लक्ष्य राखेको छ । यता नेपालले आफ्नो लय कायमै राखेको छ ।

नेपालले आफ्नो दोस्रो खेलमा मलेसियालाई पनि ९ विकेटले हराएको छ । नेपाली टिमका ओपनिङ ब्याट्सम्यान आरिश शेख र कुशल भुर्तेलले लगातार दुई खेलमा शानदार ब्याटिङ गरेका छन् ।

कुशल र आशिफले दुवै खेलमा पहिलो विकेटका लागि एक सय प्लसको साझेदारी गरेका छन् । नेपालले तेस्रो खेलमा प्लेइङ-११ मा एक खेलाडी परिवर्तन गर्ने सम्भावना छ ।

नेदरल्याण्ड्सविरुद्ध नेपालले साहब आलमलाई विश्राम दिँदै सुशन भारीलाई प्लेइङ-११ मा समावेश गर्ने सम्भावना बढी छ ।

साहबले पहिलो र दोस्रो खेलमा किफायती बलिङ गर्न सकेनन् ।

नेपालको सम्भावित प्लेइङ-११ : ज्ञानेन्द्र मल्ल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा र सुशन भारी ।

नेदरल्याण्ड्सको सम्भावित-११ : म्याक्स ओदाउद, टोबियस भिसे, स्कट इड्र्वास, बेन कपूर, बास डि लीडे, सेबास्टियान ब्राट, पिटर सीलार (कप्तान), पल भ्यान मेकिरेन, एन्टोनियस स्टाल, आर्यन दत्त र फिलिप बोइसेभ्यान ।

Loading...