चेन्नईको लगातार दोस्रो जित, यी खेलाडी बने जितका ‘हिरो’

काठमाडौं- १४औँ सिजनको आईपीएलअन्तर्गत राजस्थान रोयल्सविरुद्ध चेन्नई सुपर किंग्स (सीएसके) ४५ रनले विजयी भएको छ ।

जारी सिजनमा सीएसको लगातार दोस्रो जित हो । उसले तीन म्याच खेल्दा एक खेलमा मात्र हारको सामना गरेको छ ।

राजस्थानको भने यो दोस्रो हार हो । उसले तीन म्याच खेल्दा एक खेलमा मात्र जित हासिल गरेको छ ।

आफ्नो तेस्रो खेलमा चेन्नईले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र बनाउन सक्यो ।

उसका लागि जोश बटलरले ४९, जयदेव उनदकटले २४, राहुल तेवटियाले २०, शिवम् दुबेले १७ र मनन बोहराले १४ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा मोइन अलीले तीन, रवीन्द्र जडेजा, साम करनले दुई/दुई, शार्दुल ठाकुर र ड्वेन ब्रावोले एक/एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन बनायो ।

उसका लागि फाफ डुप्लेसिसले ३३, अम्बाती रायडूले २७, मोइन अलीले २६, ड्वेन ब्रावोले अविजित २०, सुरेश रैना, कप्तान महेन्द्रसिंह धोनीले १८/१८, साम करनले १२ र ऋतुराज गायकवाडले १० रनको योगदान दिए ।

बलिङमा चेतन सकारियाले तीन, क्रिस मोरिसले दुई, मुस्तफिजुर रहमान र राहुल तेवटियाले एक/एक विकेट लिए ।

आजको जितसँगै चेन्नई अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

Loading...